राजनीति

अध्यक्ष ओली र पूर्व राष्ट्रपति भण्डारीबिच राष्ट्रिय राजनीतिको विषयमा छलफल

काठमाडौँ । प्रधानमन्त्री एवम् नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली र पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीबिच भएको भेटवार्ता सकिएको छ।

च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा अध्यक्ष ओली र पूर्व राष्ट्रपति भण्डारीबिच आइतबार दिउँसो छलफल भएको हो।

भेटवार्तापछि सञ्चारकर्मीसँग कुरा गर्नुहुँदै पूर्व राष्ट्रपति भण्डारीले अध्यक्ष ओलीसँग राष्ट्रिय राजनीतिका विषयमा छलफल भएको जानकारी दिनुभएको हो।

भेटपछि सञ्चारकर्मीले राखेको जिज्ञासाको जवाफमा उहाँले भन्नुभयो, “आज राष्ट्रिय राजनीतिको विषयमा मात्रै कुराकानी भयो । अरु विषय तपाईंलाई आधिकारिक च्यानलबाट थाहा हुन्छ ।”

पूर्वराष्ट्रपति भण्डारीले आफ्नो पार्टी सदस्यता पहिले नै नवीकरण भइसकेको जानकारी दिनुभयो ।  उहाँहरूबीच करिब डेढ घण्टा कुराकानी भएको हो । पूर्वराष्ट्रपति भण्डारी जिम्मेवारीबाट बाहिरिएपछि पहिलोपटक एमाले मुख्यालय च्यासल पुग्नुभएको हो । उहाँलाई एमाले उपाध्यक्ष सुरेन्द्र पाण्डे र केन्द्रीय कार्यालयका सचिव डा भीष्म अधिकारीले स्वागत गर्नुभएको थियो ।

उहाँले यसअघि नै पार्टी राजनीतिमा आउने सार्वजनिक घोषणा गरिसक्नुभएको छ । यस विषयले एमालेको सचिवालय र पोलिटब्यूरो बैठकमा प्रवेश पाएपछि आज नेतृत्वसँग औपचारिक छलफल भएको हो । एमालेको शनिबार सम्पन्न पोलिटब्यूरो बैठकमा अधिकांश पोलिटब्यूरो सदस्यले पूर्वराष्ट्रपतिजस्तो गरिमामय पदमा रहिसकेका व्यक्तिले पार्टीको सक्रिय राजनीतिमा आउन नहुने विचार व्यक्त गर्नुभएको थियो ।

About the author
The Himalayan Voice

The Himalayan Voice

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.