सिड्नीमा नेपाली बहुसांस्कृतिक केन्द्र निर्माणका लागि सांस्कृतिक साँझ हुने
सिड्नी । ‘ग्रेटर सिड्नी नेपाली मल्टिकल्चरल सेन्टर’ले ‘सदस्य सम्मान तथा अर्थ सङ्कलन साँझ’ कार्यक्रम आयोजना गर्ने भएको छ । सेन्टरले नोभेम्बर २७ मा सिड्नीको हर्सभिलमा रहेको मराना हल र नोभेम्बर २८ मा सिड्नीको वेस्ली कन्फ्रेन्स हलमा सांस्कृतिक साँझको आयोजना गर्ने भएको हो ।
अस्ट्रेलियाको बहुसांस्कृतिक समाजमा नेपाली समुदायको उपस्थिति, योगदान र पहिचान दिनप्रतिदिन विस्तार हुँदै गइरहेकोले नेपाली बहुसांस्कृतिक केन्द्रको निर्माणका लागि सो कार्यक्रम आयोजना गर्न लागिएको जनाइएको छ ।
संस्थाका अध्यक्ष विष्णु हमालले भने– ‘नेपाली बहुसांस्कृतिक केन्द्र केवल एउटा भवन निर्माण गर्ने योजना होइन । यो नेपाली समुदायको वर्तमान आवश्यकता र भावी पुस्ताको भविष्यसँग जोडिएको साझा सपना हो ।‘
कार्यक्रममा सहभागी हुन नेपालबाट कलाकारहरू मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, मनोज गजुरेल र शान्तिश्री परियारका साथै वरिष्ठ मुटुरोग विशेषज्ञ डा. भगवान कोइराला सिड्नी आउँदैछन् ।
केन्द्रले भविष्यमा भाषा र संस्कृतिको संरक्षण, अस्ट्रेलियामा हुर्कँदै गरेका दोस्रो तथा तेस्रो पुस्ताका नेपाली बालबालिकालाई नेपाली भाषा, कला, संस्कृति, परम्परा र मौलिक पहिचानसँग जोड्ने काम गर्ने जनाइएको छ ।