राजनीति

संविधानको मर्म बमोजिम स्थानीय तह र प्रदेशसभाको निर्वाचन हुन्छ : निर्वाचन आयोग

काठमाडौँ । निर्वाचन आयोगले संविधान र कानुनको मर्म बमोजिम स्थानीय तह र प्रदेशसभाको निर्वाचन हुने स्पष्ट गरेको छ । 

राष्ट्रिय मान्यता प्राप्त दलका शीर्ष नेताहरूसँग आज यहाँ आयोजित कार्यक्रममा निर्वाचनको सम्भावित मितिबारे छलफल भएको हो ।

छलफल पश्चात् आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले स्थानीय र प्रदेशसभाको निर्वाचन एकै समयमा हुनुपर्ने र सम्बन्धित तहका जनप्रतिनिधिको कार्यकाल समाप्त हुनुभन्दा दुई महिना अगावै गर्नुपर्ने संविधानको मर्मअनुसार परामर्श भएको बताउनुभयो । सो विषयमा आन्तरिक छलफलपछि आयोग र सरकारलाई ठोस सुझाव दिने शीर्ष नेताहरूले विश्वास दिलाउनुभएको उहाँको भनाइ छ ।

प्रवक्ता भट्टराईले योग्य मतदाता कोही पनि मतदाता नामावलीमा छुट्न नहुने र एउटै मतदाताको नाम दोहोरिन नहुने विषयलाई आयोगले प्राथमिकतामा राख्नुका साथै आयोगद्वारा गरिएका सुधारात्मक कामबारे नेताहरूलाई जानकारी गराइएको जानकारी दिनुभयो ।

मतदाता नामावलीलाई राष्ट्रिय परिचयपत्रसँग अन्तरसम्बन्धित गराइएको उल्लेख गर्दै उहाँले नामावलीलाई थप व्यवस्थित र त्रुटिरहित बनाउने काम अघि बढाइएको जानकारी दिनुभयो ।

प्रवक्ता भट्टराईले देशको कूल जनसङ्ख्यामा महिलाको सङ्ख्या बढी रहे पनि मतदाता नामावलीमा भने पुरुष मतदाताको सङ्ख्या बढी देखिएको अवस्थाबारे पनि जानकारी गराउनुभयो । मतदाता नामावलीमा देखिएका यस्ता असन्तुलन र सुधार गर्नुपर्ने विषय छलफलमा प्रस्तुत गरिएको उहाँको भनाइ छ ।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्