राजनीति

आयोगले थाल्यो स्थानीय निर्वाचनको तयारी, आज दलहरुसँग छलफल

काठमाडौँ। निर्वाचन आयोग स्थानीय तहको चुनावको तयारीमा जुटेको छ । निर्वाचनको तयारीस्वरुप आयोगले राजनीतिक दलहरुसँग छलफल एवं परामर्श सुरु गरेको हो ।

आयोगले आज नै विभिन्न राजनीतिक दलहरुसँग छलफल सुरु गर्ने भएको जनाएको छ । सो प्रयोजनका लागि राष्ट्रिय राजनीतिक दलका प्रतिनिधिहरुलाई आज आयोगले छलफलका लागि आमन्त्रण गरेको छ ।

आयोगले आज बिहान ११ः३० बजे दलका नेताहरुलाई छलफलका लागि बोलाएको छ । आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले आजका लागि राजनीतिक दलहरुलाई छलफलमा बोलाइएको जानकारी दिनुभयो ।

प्रवक्ता भट्टराईले भन्नुभयो, “स्थानीय तहको निर्वाचनका विषयमा छलफलका लागि नै उहाँहरुलाई आयोगमा आमन्त्रण गरिएको हो ।”

राष्ट्रिय दलको मान्यता प्राप्त दलहरूलाई आज छलफलका लागि आयोगमा आमन्त्रण गरिएको उहाँले बताउनुभयो । स्थानीय एवं प्रदेश तहको निर्वाचनका सन्दर्भमा आयोगमा आज ती राजनीतिक दलका प्रतिनिधिहरुसँग आवश्यक परामर्श एवं छलफल हुने भएको हो ।
प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेपाली कांग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिष्ट पार्टी, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले राष्ट्रिय दलको मान्यता प्राप्त गरेका छन् । स्थानीय तहका जनप्रतिनिधिको कार्यकाल आगामी वैशाखमा पूरा हुँदैछ । त्यसैले आयोगले नयाँ निर्वाचनको मिति घोषणा र निर्वाचनको तयारीका सन्दर्भमा गृहकार्य थालेको हो ।

निर्वाचनको मिति तथा व्यवस्थापन, आवश्यक पूर्वतयारीका सम्बन्धमा राजनीतिक दलहरूको सुझावका लागि सो छलफल गर्न लागिएको आयोगले जनाएको छ । आयोगले राष्ट्रिय मान्यता प्राप्त राजनीतिक दलहरूसँगको छलफलपछि आयोगमा दर्ता भएका अरु राजनीतिक दलहरुसँग पनि छलफल गर्ने कार्यक्रम तय गरेको छ ।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्