राजनीति

विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले दसैँले भौगोलिक, सांस्कृतिक र भाषिक विविधतायुक्त समाजमा सबै वर्ग, समुदाय र क्षेत्रका नागरिकलाई एउटै सूत्रमा बाँध्ने अवसर दिने बताउनुभएको छ ।

विजयादशमीका अवसरमा आज शुभकामना सन्देश दिनुहुँदै उहाँले यस पर्वले वर्षौंसम्म छुट्टिएका साथीभाइ तथा आफन्तजनसँग आत्मीयता बाँड्ने अवसरसमेत दिने उल्लेख गर्नुभएको छ । उहाँले यस पावन अवसरमा देश तथा विदेशमा रहनुभएका सबैमा सुख, शान्ति समृद्धि र उत्तरोत्तर प्रगतिको मङ्गलमय शुभकामना व्यक्त गर्नुभएको छ ।

शुभकामना सन्देशमा भनिएको छ, “आजको दिनमा आसुरी प्रवृत्तिको रूपमा रहेको भ्रष्टाचार, कुशासन, ढिलासुस्ती, असमानता र राजनीतिक व्यथिति हटाउन र हरेक नागरिकलाई हाम्रा लागि सरकार छ भन्ने महसुस गराउन हामी सबै एकजुट हुन आवश्यक छ । इमान्दार प्रयास, अठोट र सामूहिक मेहनतले नै हामीलाई यस्ता विकृति हटाउन मद्दत गर्नेछ । परिवर्तनका लागि सोचसँगै व्यवहार पनि बदल्न जरुरी छ ।”

विजयादशमी अर्थात् असत्यमाथि सत्यको विजयप्राप्त भएको उपलक्ष्यमा उत्सव मनाउने दिन हो । पौराणिक मान्यताअनुसार यसै दिन दुर्गा भवानीले महिषासुरजस्तो आसुरी शक्तिमाथि विजय प्राप्त गरेको मानिन्छ । साथै आजकै दिन भगवान् रामले पनि असत्यको प्रतीक रावणको अन्त्य गरेको दिनको रूपमा लिइने शुभकामना सन्देशमा उल्लेख छ ।

“विजयादशमी मनाउँदै गर्दा मान्यजनबाट दुर्गा भवानीको प्रसादस्वरूप टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने परम्परा छ । दुर्गा भवानीले विजय प्राप्त गरेजस्तै हामीले पनि हरेक सत्कर्ममा विजय प्राप्त गर्न सकौँ भन्ने कामना मान्यजनहरूले गर्नुहुन्छ । आशीर्वाद ग्रहण गर्न टाढा रहनुभएका मान्यजनहरूलाई समेत हामी खोजीखोजी पुग्छौँ” उहाँले भन्नुभएको छ ।

प्रधानमन्त्री शाहले विजयादशमीले मानिसमा रहेका अहंकार, लोभ, इर्स्र्या, हिंसा र विभेदजस्ता नकारात्मक सोचलाई त्याग्न प्रेरणा दिने समेत उल्लेख गर्दै सबैलाई आ–आफ्नो ठाउँबाट क्षमताअनुसार विजयादशमी मनाउन सद्भाव, एकता, सम्मान र माया आपसमा साट्न आग्रह गर्नुभएको छ ।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्