इमिग्रेशन अपडेट

रुसद्वारा युक्रेनी सेनामा सेवा गरेको आरोप लागेका एक जर्मन नागरिकलाई पक्राउ

कोलोन, जर्मनी, (एपी)। रुसको प्रमुख आन्तरिक सुरक्षा निकायले बुधबार एक जर्मन नागरिकलाई पक्राउ गरेको जनाएको छ। ती व्यक्तिमाथि युक्रेनी सेनामा सेवा गरेको आरोप लागेको छ।

सोभियत केजीबीको उत्तराधिकारी निकाय मानिने ‘फेडरल सेक्युरिटी सर्भिस’ले ती व्यक्तिको नाम वा पहिचान खुल्ने अन्य कुनै विवरण दिएको छैन। साथै, उनलाई कहाँ र कहिले पक्राउ गरियो भन्नेबारे पनि केही खुलाइएको छैन।

एफएसबीको विज्ञप्ति अनुसार, ती व्यक्तिले सन् २०१६ देखि २०१८ सम्म युक्रेनी सेनामा काम गरेका थिए। पछि, सन् २०२५ मा उनले तीन वर्षे सम्झौतामा हस्ताक्षर गरे पनि तलब नपाएपछि सेना छोडेर हिँडेका थिए। एफएसबीले उनी अफगानिस्तानमा तैनाथ जर्मन टुकडीको हिस्साका रूपमा, साथै सोमालिया र सिरियामा भएका द्वन्द्वहरूमा पनि संलग्न रहेको आरोप लगाएको छ।

एफएसबीका अनुसार, ती व्यक्तिमाथि रुसमा ‘भाडाका सैनिक’का रूपमा काम गरेको अभियोगमा फौजदारी मुद्धा चलाइएको छ।

एफएसबीले लगाएका यी आरोपहरूको स्वतन्त्र रूपमा पुष्टि हुन सकेको छैन।

जर्मन विदेश मन्त्रालयकी प्रवक्ता क्याथरिन डेसाउरले बुधबार बताइन् कि जर्मन अधिकारीहरूलाई यस घटनाबारे जानकारी छ। उनले थप टिप्पणी गर्न अस्वीकार गरिन् र केवल यति भनिन्, “हाम्रो पहिलो प्राथमिकता तथ्यहरू स्पष्ट पार्नु हो, र हामी पक्कै पनि त्यसै दिशामा काम गरिरहेका छौं।”

गत हप्ता, एफएसबीले अवैध रूपमा सीमा पार गरेको आरोपमा एक स्विडेनी नागरिकलाई नियन्त्रणमा लिएको जनायो; उनीमाथि तोडफोड (सबोटाज) को शंका गरिएको थियो। साथै, जासुसी गरेको आशंकामा एक जापानी पत्रकारलाई पनि पक्राउ गरिएको जानकारी दिइयो।

हालैका वर्षहरूमा, रुसले विभिन्न आपराधिक आरोपमा धेरै विदेशीहरूलाई — विशेष गरी अमेरिकीहरूलाई — पक्राउ गरेको छ र पछि उनीहरूलाई अमेरिका तथा अन्य पश्चिमा राष्ट्रहरूसँग ‘कैदी आदानप्रदान’ मार्फत मुक्त गरेको छ।

शीतयुद्धयताकै सबैभन्दा ठूलो आदानप्रदान सन् २०२४ को अगस्टमा भएको थियो। त्यसबेला मस्कोले पत्रकार इभान गेर्शकोभिच र अलसु कुर्माशेभा, अमेरिकी नागरिक पल व्हेलान तथा रुसी असन्तुष्टहरू सहित कुल २४ जनालाई एक बहुराष्ट्रिय सम्झौतामार्फत मुक्त गरेको थियो।

सन् २०२५ को जनवरीमा डोनाल्ड ट्रम्प अमेरिकी राष्ट्रपतिका रूपमा पुनः पदभार सम्हालेपछि, रुसमा थुनामा रहेका थप अमेरिकीहरू मुक्त भएका छन्। यसै क्रममा, बुधबार रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँगको वार्ताका दौरान अमेरिकी दूत स्टिभ विटकफले थप व्यक्तिहरूको रिहाइबारे जानकारी दिएका छन्।

विटकफले रुसमा चार वर्षभन्दा बढी समय जेलमा बिताएका, मिसिगनका ७४ वर्षीय पूर्व शिक्षक स्टिफन हबार्डलाई मुक्त गरेकोमा पुटिनलाई धन्यवाद दिए। सन् २०२४ मा, हबार्डलाई युक्रेनमा भाडाका सैनिक (मर्सिनरी) का रूपमा लडेको अभियोगमा दोषी ठहर गर्दै करिब सात वर्षको जेल सजाय सुनाइएको थियो। अमेरिकाले उनलाई ‘अनुचित रूपमा हिरासतमा राखिएको’ व्यक्ति मानेको थियो।

क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले बताएअनुसार, पुटिनले ‘मानवीय दृष्टिकोण’ लाई ध्यानमा राख्दै हबार्डलाई मुक्त गर्ने निर्णय गरेका हुन्।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्