बाढीपहिरोपीडितका लागि एनसीएनसीद्वारा ७२ हजार डलर सहयोग
नर्थ क्यारोलाइना । नेपालमा करिब डेढ महिनाअघि आएको विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित परिवारको राहत तथा सहयोगका लागि अमेरिकास्थित साझा संस्था नेपाल सेन्टर अफ नर्थ क्यारोलाइना (एनसीएनसी) ले ७२ हजार अमेरिकी डलर अर्थात् करिब एक करोड ११ लाख नेपाली रुपियाँ बराबरको चेक प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा दाखिला हुने गरी हस्तान्तरण गरेको छ ।
सोमबार अपराह्न वासिङ्टन डिसीस्थित नेपाली राजदूतावासमा आयोजित समारोहमा नेपालका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई उक्त चेक हस्तान्तरण गरिएको हो । एनसीएनसीका अध्यक्ष ददिन पाण्डेको नेतृत्वमा श्याम अर्याल, डा. पल्लवी शर्मालगायत एनसीएनसीका पदाधिकारीको टोलीले अर्थमन्त्री वाग्लेलाई चेक हस्तान्तरण गरेको थियो ।
सो अवसरमा अर्थमन्त्री वाग्लेले देशमा आएको प्राकृतिक विपद्मा विदेशमा रहेका नेपाली सङ्घसंस्थाले गरेको सहयोग उदार भावनाको उदाहरण भएको बताउनुभयो । उहाँले यस्तो सहयोगले विपद्मा परेका परिवारलाई ठूलो राहत पुग्ने बताउँदै सहयोगका लागि एनसीएनसीलाई धन्यवाद दिनुभयो । अमेरिकामा रहेका अन्य थुप्रै नेपाली सङ्घसंस्थाले पनि राहत तथा उद्धारका लागि सहयोग गरेको उहाँले स्मरण गर्नुभयो ।
चेक हस्तान्तरणका अवसरमा एनसीएनसीका अध्यक्ष पाण्डेले संस्थाको इतिहास, उद्देश्य, समुदायप्रतिको भूमिका तथा नर्थ क्यारोलाइनामा रहेको नेपाली समुदायका लागि एनसीएनसीले पुर्याउँदै आएको योगदानबारे चर्चा गर्नुभयो । उहाँले मानवीय अभियानमा आफ्नो क्षमताअनुसार सहयोग गर्ने व्यक्ति, सङ्घसंस्था, परिवार, व्यवसायी तथा सामुदायिक संस्थाप्रति हार्दिक धन्यवाद तथा आभार व्यक्त गर्नुभयो ।
उहाँले यस प्रकारको सहयोगले विपद् प्रभावित नेपालीहरूमाझ एकता, माया र ऐक्यबद्धता झल्काएको बताउँदै भन्नुभयो, “नेपाललाई दुःख पर्दा हाम्रो हृदय पनि नेपालसँगै दुख्छ ।”
अध्यक्ष पाण्डेले सहयोग सङ्कलनको अभियान अक्टोबर ३१ सम्म सञ्चालन हुने जानकारी दिनुभयो । उहाँका अनुसार आगामी हप्ता ‘वाक फर नेपाल’ नाम दिइएको पाँच किलोमिटर दौड तथा पैदलयात्रा आयोजना गरिँदै छ । उक्त कार्यक्रमबाट समेत करिब १० हजार अमेरिकी डलर सङ्कलन गर्ने लक्ष्य राखिएको छ । उहाँले उक्त अभियानमा सहभागी भई सहयोग गर्न सबैलाई अपिल गर्नुभयो ।
विपद्का बेला एनसीएनसीको अभियानमा ‘डेडिकेटेड टु आवर कम्युनिटी अफ नर्थ क्यारोलाइना’ले १२ हजार १११ डलर, कानु पटेल डिभो फाउन्डेसनले पाँच हजार दुई डलर, निरल शान्तिलाल पटेलले पाँच हजार १५० डलर र ईश्वर तथा कमला देवकोटाले तीन हजार एक डलर सहयोग गरेका छन् । त्यस्तै, वेंकटेश्वर मन्दिर र श्रीडी साइबाबा मन्दिरका तर्फबाट तीन–तीन हजार डलर तथा युनाइटेड बंगाली एसोसिएसनबाट दुई हजार ११५ डलर सहयोग प्राप्त भएको छ ।
चेक हस्तान्तरण समारोहमा नेपाली राजदूतावासका कार्यवाहक राजदूत शरदराज अरनलगायत दूतावासका कर्मचारीको पनि उपस्थिति थियो ।