नेपाल

बाढीपहिरोबाट अन्नपूर्णका दुई सय घरपरिवार प्रभावित

म्याग्दी । यही असोज ८ देखि ११ गतेसम्म परेको अविरल वर्षापछि आएको बाढीपहिरो र कालीगण्डकी नदीको कटानले म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा ठूलो जनधनको क्षति पुर्‍याएको छ । 

विपद्मा परी छ जनाको मृत्यु भएको छ भने ६० घर पूर्ण र १२९ घर आंशिक रूपमा क्षतिग्रस्त भएका गाउँपालिकाले जनाएको छ । गाउँपालिकाकी उपाध्यक्ष दिवाकुमारी तिलिजाका अनुसार विपद्बाट विस्थापित परिवारलाई सुरक्षित राख्न तीन स्थानमा अस्थायी आश्रयस्थल निर्माण गरिएको छ । वडा नं ६ घारस्थित वडा कार्यालयमा रहेको आश्रयस्थलमा पाउद्वारका ९४ जना, शिखमा रहेको आश्रयस्थलमा किन्दु र धस्केखोरका ९१ जना तथा काफलडाँडाको सिरुबारीस्थित आश्रयस्थलमा महभीरका ७० जनालाई राखिएको छ ।

तीनवटा आश्रयस्थलमा गरी २५५ जना प्रभावितले आश्रय लिएका छन् । थप १५६ जना प्रभावित आफन्त तथा छिमेकीको घरमा बसेका छन् । गाउँपालिकाले त्रिपाल र टेन्टको व्यवस्था गरी प्रभावितलाई अस्थायी बसोबासको प्रबन्ध मिलाएको उपाध्यक्ष तिलिजाले बताउनुभयो ।

विपद्पछि सडक, विद्युत् र सञ्चार सेवा लामो समयसम्म अवरुद्ध हुँदा प्रभावित बस्तीमा दैनिक उपभोग्य सामग्री पुर्‍याउन कठिन भएको छ । नेपाली सेनाको हेलिकप्टरमार्फत ढुवानी गरिएका सामग्रीसमेत सकिन थालेका छन् । आश्रयस्थलसम्म पुग्ने सडक अवरुद्ध हुँदा राहत वितरणमा समस्या भएको गाउँपालिकाले जनाएको छ ।

नेपाल विद्युत् प्राधिकरणको म्याग्दी वितरण केन्द्रले क्षतिग्रस्त विद्युत्का पोल तथा वितरण लाइन मर्मत गरेपछि ११ दिनपछि गाउँपालिका केन्द्र पोखरेबगर, नागी, राम्चे, भुरुङतातोपानी र दानालगायत क्षेत्रमा विद्युत् सेवा सञ्चालनमा ल्याएको छ । शिख र घोडेपानीलगायतका बस्तीमा भने अझै विद्युत् सेवा सञ्चालन हुन सकेको छैन । विद्युत् तथा सञ्चार सेवा अवरुद्ध हुँदा स्थानीयको जनजीवन कष्टकर बनेको अन्नपूर्ण गाउँपालिका–६ का वडाध्यक्ष रामबहादुर खड्काले बताउनुभयो ।

गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनले विपद्बाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि आवश्यक स्रोतको अभाव भएपछि सहयोगको अपिल गर्नुपरेको बताउनुभयो । उहाँका अनुसार कालीगण्डकी नदीको कटानका कारण गाउँपालिकाको महभीरदेखि मुस्ताङको सीमासम्मका बस्तीको संरक्षण गर्नु चुनौतीपूर्ण बनेको छ ।

बाढीपहिरोले बेनी–जोमसोम–कोरला सडकअन्तर्गत गाउँपालिकाका विभिन्न स्थानमा सडक कटान तथा पहिरोको समस्या निम्त्याएको छ । सडक अवरुद्ध हुँदा प्रभावित बस्तीमा राहत सामग्री पुर्‍याउन र आवतजावत गर्न कठिनाइ भएको छ । घर, गोठ, खानेपानी आयोजना, सिँचाइ, कृषि क्षेत्र तथा सार्वजनिक संरचनामा पुगेको क्षतिले स्थानीयको जनजीवन र जीविकोपार्जनमा समेत असर पारेको छ ।

प्रभावित परिवारलाई तत्काल राहत उपलब्ध गराउनुका साथै जोखिममा रहेका बस्तीको प्राविधिक अध्ययन गरी सुरक्षित स्थानमा स्थानान्तरण गर्नुपर्ने आवश्यकता रहेको अध्यक्ष पुनले बताउनुभयो । क्षतिग्रस्त सडक, खानेपानी, विद्युत् तथा अन्य पूर्वाधारको पुनर्निर्माणका लागि ठूलो लगानी आवश्यक पर्ने भएकाले गाउँपालिकाको स्रोतसाधनले मात्रै सम्भव नहुने उहाँको भनाइ छ ।

अध्यक्ष पुनले विपद् उद्धार, राहत तथा पुनःस्थापनाका कार्यमा सहयोग गर्न चाहने सङ्घीय, प्रदेश तथा स्थानीय सरकार, विभिन्न सङ्घसंस्था, उद्यमी, व्यवसायी तथा सहयोगी व्यक्तिलाई गाउँपालिकाको प्रकोप व्यवस्थापन कोषमा आर्थिक सहयोग गर्न आग्रह गर्नुभएको छ । गाउँपालिकाले कोषमा उपलब्ध क्युआर कोडमार्फत पनि सहयोग गर्न सकिने व्यवस्था मिलाएको उहाँले जानकारी दिनुभयो ।

बाढीपहिरोबाट प्रभावित परिवारको सुरक्षित बसोबास, जोखिमयुक्त बस्तीको संरक्षण तथा स्थानान्तरण र क्षतिग्रस्त भौतिक संरचनाको पुनर्निर्माणलाई प्राथमिकतामा राखिएको गाउँपालिकाले जनाएको छ । यी कार्यका लागि सङ्घीय तथा प्रदेश सरकारबाट आवश्यक सहयोगको अपेक्षा गरिएको अध्यक्ष पुनले बताउनुभयो । रासस

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्