मनोरंजन

लोक तथा दोहोरीगीत प्रतिष्ठानको महाधिवेशनको रौनकमा बर्दिबास

बर्दिबास । नेपाली लोक तथा दोहोरीगीत क्षेत्रको प्रतिष्ठित संस्था राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालले स्थापनाको २५ वर्ष पूरा गरेको अवसरमा पहिलोपटक मधेश प्रदेशमा ९औँ राष्ट्रिय महाधिवेशन तथा रजत जयन्ती समारोह आयोजना गर्ने भएको छ। महाधिवेशन नजिकिँदै जाँदा महोत्तरीको बर्दिबास लोकदोहोरीका चर्चित कलाकार, सङ्गीतकर्मी र कलाप्रेमीको जमघटको केन्द्र बन्दै गएको छ।

मधेशको माटो, मैथिली–भोजपुरी संस्कृतिको मौलिकता र नेपाली लोकदोहोरीको लोकप्रियतालाई एउटै मञ्चमा जोड्ने भएकाले बर्दिबासमा हुने महाधिवेशनलाई प्रतिष्ठानको २५ वर्षे यात्राकै विशेष र ऐतिहासिक अध्यायका रूपमा हेरिएको छ।

बर्दिबास–३ स्थित गौरीडाँडा खुला मञ्चमा असोज २२, २३ र २४ गते आयोजना हुने महाधिवेशनलाई भव्य, सभ्य र दिव्य बनाउन तयारी तीव्र पारिएको आयोजकले जनाएको छ। ‘लोकतन्त्रको संरक्षण, स्रष्टाको सम्मान, नवप्रतिभाको प्रोत्साहन’ भन्ने मूल नाराका साथ हुने महाधिवेशनको उद्घाटन मधेश प्रदेशका मुख्यमन्त्री कृष्ण यादवले गर्ने कार्यक्रम तय भएको छ।

महाधिवेशनले प्रतिष्ठानको २५ वर्षे यात्राको संस्थागत समीक्षाका साथै वर्तमान अवस्था, स्रष्टाका समस्या र लोकगीत क्षेत्रका सम्भावनाबारे गम्भीर छलफल गर्नेछ। आगामी दिनको कार्यदिशा तय गर्नुका साथै प्रतिष्ठानको नयाँ नेतृत्वसमेत चयन हुने प्रतिष्ठानका केन्द्रीय सदस्य कृष्ण गौतमले जानकारी दिनुभयो।

करिब ५० हजार साधारण सदस्य आबद्ध रहेको प्रतिष्ठानको महाधिवेशनमा एक हजार पाँच सयभन्दा बढी प्रतिनिधि सहभागी हुनेछन्। त्यसबाहेक पर्यवेक्षक, शुभेच्छुक, कलाकार तथा दर्शक गरी पाँच हजारभन्दा बढीको उपस्थिति रहने आकलन गरिएको छ।

भारत, अमेरिका, दक्षिण कोरिया लगायत दर्जनभन्दा बढी मुलुकबाट समेत सहभागी आउने भएकाले सहभागिताको सङ्ख्या अझ बढ्न सक्ने गौतमले बताउनुभयो।

महाधिवेशन नजिकिँदै जाँदा बर्दिबासमा चर्चित लोक तथा दोहोरी कलाकारहरूको चहलपहल बढेको छ। शान्तिश्री परियार, प्रकाश सपुत, प्रीति आले, पशुपति शर्मा लगायतका लोकप्रिय कलाकारहरूको उपस्थितिले बर्दिबासमा लोकदोहोरीको माहोल थप तातेको छ। प्रतिष्ठानका उपमहासचिव शिरिष देवकोटालगायत चर्चित कलाकारहरू बर्दिबास पुगिसक्नुभएको छ।

महाधिवेशनको घनिभूत प्रचारप्रसार, आकर्षक पोस्टर–पम्प्लेट, मञ्च सजावट र उद्घाटन समारोहको तयारीले बर्दिबासमा अहिले नै उत्सवमय वातावरण देखिन थालेको छ।

सहआयोजक राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल, मधेश प्रदेशका अध्यक्ष रुद्रसेन विश्वकर्माले महाधिवेशनलाई ऐतिहासिक, जीवन्त, यादगार र सन्देशमूलक बनाउन युद्धस्तरमा तयारी भइरहेको बताउनुभयो।

विश्वकर्माले भन्नुभयो, ‘२५ वर्षे रजत जयन्तीको अवसरमा मधेश प्रदेशमा आयोजना हुन लागेको यो राष्ट्रिय महाधिवेशन संस्थागत कार्यक्रममा मात्र सीमित छैन। यो मधेशको कला, संस्कृति र पर्यटन प्रवर्धनको अवसर पनि हो।’

स्थानीय व्यवस्थापक एवं राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान, महोत्तरीका सचिव रमेश खत्रीका अनुसार महाधिवेशन सञ्चालनदेखि अतिथि सत्कारसम्मका कामलाई व्यवस्थित बनाउन २० वटा उपसमिति गठन गरिएको छ। महाधिवेशनमा आउने प्रतिनिधि, कलाकार, अतिथि तथा दर्शकलाई सहज वातावरण उपलब्ध गराउन विभिन्न जिम्मेवारी बाँडफाँट गरिएको छ।

खत्रीले २५ वर्षे रजत जयन्तीको यो महत्त्वपूर्ण अवसर मधेशमा आयोजना हुनु समग्र मधेशका कलाप्रेमीका लागि गर्वको विषय भएको बताउनुभयो।

महाधिवेशनका कारण बर्दिबासको होटल, पर्यटन तथा व्यापार–व्यवसायमा समेत सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको होटल तथा पर्यटन व्यवसायी महासङ्घ, मधेश प्रदेशका अध्यक्ष हिरा गौतमले बताउनुभयो।

सामाजिक सञ्जाल र डिजिटल माध्यममा चर्चित कलाकारहरूको ठुलो प्रभाव रहेकाले महाधिवेशनका गतिविधि देश–विदेशसम्म पुग्ने उहाँले बताउनुभयो। यसले बर्दिबाससहित समग्र मधेशको पहिचान, पर्यटन र सांस्कृतिक सम्भावनालाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन सहयोग पुग्ने गौतमको भनाइ छ।

बर्दिबास उद्योग वाणिज्य सङ्घका अध्यक्ष दीपक कार्कीले लोकलय समाजको ढुकढुकी भएको बताउँदै महाधिवेशनले बर्दिबासको सुस्त बनेको व्यापारलाई समेत चलायमान बनाउने विश्वास व्यक्त गर्नुभयो।

उहाँका अनुसार देश–विदेशका कलाकार, प्रतिनिधि र दर्शकको ठुलो उपस्थितिले स्थानीय व्यापार–व्यवसायमा प्रत्यक्ष लाभ पुग्नुका साथै मधेशको बहुआयामिक सांस्कृतिक पहिचानलाई विश्वमाझ पुर्‍याउन यो राष्ट्रिय महाधिवेशनले सहयोग गर्नेछ।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्