संसददेखि राजनीतिक दलसम्म खुलामञ्च आवश्यक ः सभापति थापा
काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन आजबाट काठमाडौँको खुलामञ्चमा सुरु भएको छ । ‘परम्पराको सम्मान र परिवर्तनको सङ्कल्प : समुन्नत नेपालका लागि सबल कांग्रेसको विकल्प’ भन्ने नारासहित उद्घाटन सत्र सुरु भएको हो ।
नेपाली कांग्रेसको १५औँ महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्नुहुँदै नेपाली काँग्रेसका सभापति गगन थापाले संसददेखि राजनीतिक दल भित्रसम्म जनताका प्रश्न, असहमति र विचारका लागि खुला ठाउँ आवश्यक रहेको बताउनुभयो ।
सभापति थापाले संसद् र पार्टीभित्र पर्याप्त खुलापन नभएकाले देशलाई भिन्न मत भए पनि राख्न साझा गर्न सकिने खुलामञ्च आवश्यक रहेको बताउनुभयो । सभापति थापाले समुदाय क्षेत्र, वर्ग पुस्ता र डिजिटल मञ्चसम्म खुलापन आवश्यक रहेको भन्दै सबैभन्दा पहिले सिंहदरबार र संसदभित्रै खुलापन आवश्यक रहेको बताउनुभयो ।
सत्तामा रहेकाहरूले जनताको प्रश्न सुन्नुपर्ने र जनतासँग संवाद गर्नुपर्ने भन्दै सभापति थापाले लोकतन्त्रमा जनताको आवाजलाई बन्द गर्न नहुने पनि बताउनुभयो ।
१० वर्षपछि खुलामञ्चमा कांग्रेसको महाधिवेशन आयोजना हुनु पनि खुला संवाद र जनताबीचको सम्बन्धलाई पुनः स्थापित गर्ने प्रतीक भएको भन्दै थापाले खुलामञ्चलाई राजनीतिक सभा गर्ने ठाउँका रूपमा मात्रै नभई प्रश्न, संवाद, असहमति र विचार आदानप्रदानको खुला थलोका रूपमा विकास गर्नुपर्ने धारणा राख्नुभयो ।
राष्ट्रिय स्वतन्त्र पाटीका सभापति रवि लामिछानेले देश, लोकतन्त्र र यसका मूल्य मान्यता कुनै खतरामा नरहेको बताउनुभयो ।
वर्तमान समयमा सरकार र लोकतन्त्रप्रति विभिन्न शङ्का उपशङ्का उत्पन्न गरिएको भन्दै रास्वपा सभापति लामिछानेले लोकतन्त्रका मूल्य मान्यता, यसका संस्थाहरूको रक्षा र संरक्षण गर्न अग्रपङ्क्तिमा उभिने भन्दै विश्वस्त हुन आग्रह गर्नुभयो । सभापति लामिछानेले जनताले राजनीतिक दलको काम र परिणाम हेर्न थालेको भन्दै आफूहरूले काम गर्न नसके जनताले निर्वाचनमार्फत निर्णय गर्न सक्ने पनि बताउनुभयो ।
सभापति लामिछानेले काँग्रेसले आफ्नो इतिहासबाट सिक्दै नयाँ पुस्ताको र जनताको अपेक्षासँग जोडेर अघि बढ्नुपर्ने भन्दै बलिदान र सङ्घर्षबाट प्राप्त लोकतन्त्रका मूल्य र मान्यतालाई कमजोर हुन नदिने प्रतिबद्धता पनि गर्नुभयो ।
नेपाली कम्युनिष्ट पाटीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको नेतृत्वमा निरन्तरताको क्रमभङ्ग गरेर नयाँ इतिहासतर्फ अघि बढाएको बताउनुभयो ।
संयोजक प्रचण्डले अहिले देश, लोकतन्त्र र संविधान अप्ठ्यारोमा रहेकोले देशलाई अझ सुदृढ बनाउन काँग्रेसको नेतृत्वका लागि साथ दिन आफूहरू तयार रहेको बताउनुभयो ।
मुलुकको समृद्धि र विकासका लागि सबै राजनीतिक शक्ति मिलेर अघि बढ्नुपर्ने भन्दै संयोजक प्रचण्डले नयाँ नेतृत्वले देशलाई समृद्धिको दिशामा अघि बढाउने विश्वास व्यक्त गर्नुभयो ।
समारोहमा नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले १५औँ महाधिवेशन पार्टीको नयाँ यात्राको सुरुवात भएको बताउनुभएको छ । महाधिवेशनपछि कांग्रेस अझ बलियो, ऊर्जाशील र नयाँ पुस्ताको भावनालाई समेटेर अगाडि आउने बताउनुभयो ।
उपसभापति शर्माले जननायक बीपी कोइरालाको नेतृत्वमा स्थापित काँग्रेसले लोकतन्त्रका लागि गरेको सङ्घर्षलाई नयाँ पुस्तासँग जोडेर अघि बढ्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।
उपसभापति शर्माले जलवायु परिवर्तनले नेपालमा पारिरहेको असर, मधेस आन्दोलनले उठाएका सवाल तथा जेनजी आन्दोलनका मागलाई सम्बोधन गर्नुपर्नेमा पनि जोड दिनुभयो ।
नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले पार्टीहरू मिलेर लोकतन्त्रको रक्षा र देशको मुहार परिवर्तन गर्ने समय आएको बताउनुभएको छ ।
महाधिवेशनको उद्घाटन समारोहमा महासचिव पोखरेलले राणा शासन, पञ्चायत लगायत शासनविरुद्ध आफूहरू काँग्रेससँगै मिलेर अघि बढेको स्मरण गर्दै आगामी दिनमा पनि सहकार्य आवश्यक रहेको बताउनुभयो ।
महासचिव पोखरेलले वर्तमान सरकार राजनीतिक दलहरूसँग सहकार्य र छलफल नगरी अघि बढिरहेको भन्दै नेपाली काँग्रेसले आगामी दिनमा यस विषयलाई लिएर नेतृत्वदायी भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो ।
राष्ट्रिय प्रजातन्त्र पाटीका अध्यक्ष राजेन्द्र लिङदेनले देशलाई नयाँ दिशा दिन एक नवीन राष्ट्रिय सहमतिको खाँचो रहेको बताउनुभयो । राप्रपा अध्यक्ष लिङ्देनले अहिले देखिएका राजनीतिक समस्या संविधान र गणतान्त्रिक व्यवस्थासँग पनि जोडिएको भन्दै त्यसबारे पुनर्विचार गर्ने बेला आएको बताउनुभयो ।
यस्तै श्रम संस्कृति पार्टीका महासचिव आरेन राईले नेपाली कांग्रेस हल्लाका भरमा नभई लामो सङ्घर्ष र त्यागबाट स्थापित भएको पार्टी भएको बताउनुभयो । महासचिव राईले नेपालमा लोकतन्त्र र प्रजातन्त्र स्थापनाका लागि काँग्रेसले महत्वपूर्ण भूमिका खेलेको पनि बताउनुभयो ।
पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले देश विकासका लागि स्पष्ट र दीर्घकालीन योजना बनाएर राजनीतिक दलहरूबीच त्यसको कार्यान्वयनका लागि प्रतिस्पर्धा हुनुपर्ने बताउनुभयो । पूर्वप्रधानमन्त्री भट्टराईले मुलुकलाई आगामी २० वर्षभित्र विकसित देशको स्तरमा पुर्याउने लक्ष्यसहित साझा विकास योजना बनाउनुपर्ने बताउनुभयो ।
यस्तै नागरिक उन्मुक्ति पार्टीका संस्थापक नेता रेशम चौधरीले नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले देशको नेतृत्व गर्न सक्ने आफूलाई विश्वास रहेको बताउनुभयो ।
महाधिवेशनको उद्घाटन समारोहमा शुभकामना दिँदै चौधरीले गणतन्त्र स्थापनाका लागि सङ्घर्ष गरेका थापाले अब देश निर्माणमा पनि नेतृत्वदायी भूमिका खेल्ने विश्वास व्यक्त गनुभयो ।
महाधिवेशनको बन्द सत्र र अन्य कार्यक्रमहरू भोली र पर्सि मङ्गलवार हुने र निर्वाचन कार्यक्रम भने असोज २१ र २२ गते तोकिएको केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।