जलवायु क्षतिपूर्ति र जीवाश्म इन्धनको चरणबद्ध अन्त्यको माग गर्दै संयुक्त राष्ट्रसंघीय जलवायु शिखर सम्मेलनबाहिर प्रदर्शन
न्यूयोर्क। जलवायु कार्य र न्यायपूर्ण रूपान्तरण सम्बन्धी संयुक्त राष्ट्रसंघका महासचिवको उच्च-स्तरीय कार्यक्रमका लागि विश्व नेता तथा कूटनीतिज्ञहरू राष्ट्रसंघको मुख्यालयमा आइपुग्दा, बाहिर भने अग्रपंक्तिका अभियन्ता, जलवायु अभियानकर्मी र न्यूयोर्कस्थित नेपाली समुदायका सदस्यहरू भेला भए। उनीहरूले जलवायु क्षतिपूर्तिसम्बन्धी तत्काल अन्तर्राष्ट्रिय कदम चाल्न तथा जीवाश्म इन्धनबाट पूर्ण, द्रुत र न्यायपूर्ण रूपान्तरणको माग गरे।
जीवाश्म इन्धनको प्रदूषण र चरम मौसमी घटनाबाट सबैभन्दा बढी प्रभावित क्षेत्रहरू—जस्तै अमेरिकाको गल्फ कोस्ट, परमियन बेसिन, फिलिपिन्स, केन्या, पाकिस्तान, बंगलादेश, कोलम्बिया र नेपालका बाढी-प्रभावित गाउँहरू—को प्रतिनिधित्व गर्दै प्रदर्शनकारीहरूले जीवाश्म इन्धनको निरन्तर विस्तार र यसलाई विस्थापित गर्ने कार्यमा भइरहेको ढिलाइले निम्त्याएको बढ्दो मानवीय संकटबारे ध्यानाकर्षण गराए। उनीहरूको साथमा न्यूयोर्क राज्य सभाकी सदस्य (एसेम्बलीवुमन) तथा नेपाली मूलकी पहिलो न्यूयोर्क राज्य विधायिका सदस्य साराहाना श्रेष्ठ पनि सहभागी थिइन्।
समूहको सन्देशको मुख्य केन्द्रबिन्दुमा बढी हरितगृह ग्यास उत्सर्जन गर्ने धनी राष्ट्रहरूले ‘ग्लोबल साउथ’ (विकासशील तथा अल्पविकसित राष्ट्रहरू) प्रति आफ्नो कानुनी र नैतिक दायित्व पूरा गर्नुपर्ने तत्कालको माग थियो। प्रदर्शनकारीहरूले जोड दिए कि विकासशील राष्ट्रहरूलाई जलवायु अनुकूलन क्षमता बढाउन, जलवायु विपद्बाट हुने क्षति तथा नोक्सानीबाट उम्कन र नवीकरणीय ऊर्जातर्फ द्रुत तथा न्यायपूर्ण रूपान्तरण गर्न सक्षम बनाउन अमेरिका र अन्य ‘ग्लोबल नर्थ’ (विकसित राष्ट्रहरू) का मुलुकहरूले आफ्नो ऐतिहासिक जलवायु ऋण चुक्ता गर्नुपर्छ। यी मागहरू ‘ग्लोबल नर्थ’ का राष्ट्रहरूले आफ्नै देशमा हरितगृह ग्यास उत्सर्जन शून्यमा झार्न द्रुत गतिमा अघि बढ्नुपर्ने दायित्वका अतिरिक्त हुन्।
र्यालीका वक्ताहरूमा अनिशा बुढा मगर (नेशनल इन्डिजिनस वुमन फोरम, नेपाल), एलिसिया गालेगोस (लागुना र एकोमा पुएब्लोस; जलवायु न्याय आयोजक, पुएब्लो एक्सन एलायन्स), डा. रोइसेटा ओजाने (भेसल प्रोजेक्ट अफ लुइजियाना), शरिफ जमिल (वाटरकिपर्स बंगलादेश तथा बंगलादेश क्लाइमेट जस्टिस मुभमेन्ट र एशियन पिपल्स मुभमेन्ट अन डेब्ट एन्ड डेभलपमेन्ट र मेक्सिकोका युवा जलवायु अभियन्ता होसे रेयेरोस समावेश थिए।