नेपाल

घाँसीकुवामा पहिरो खस्दा पृथ्वीराजमार्ग अवरुद्ध

तनहुँ । अविरल वर्षाले गर्दा तनहुँको व्यास नगरपालिका –१२ घाँसीकुवास्थित पृथ्वी राजमार्गमा पहिरोसहित हिलो र लेदो खस्दा सडक पूर्णरूपमा अवरुद्ध भएको छ ।

शुक्रबार साँझ करिब ६ः२५ बजे माथिबाट हिलोसहितको लेदो खसेपछि राजमार्गको दुवैतर्फको सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक द्वारिकाप्रसाद घिमिरेका अनुसार पहिरोसहित लेदो खसेर दुवै तर्फको सडक अवरुद्ध भएपछि सडक खुलाउने पहल भइरहेको छ ।

“अविरल वर्षाका कारण माथिबाट हिलोसहितको लेदो आएर पृथ्वीराजमार्गको दुवै तर्फको बाटो पूर्णरूपमा अवरुद्ध भएको छ” प्रनाउ घिमिरेले भन्नुभयो, “सडक खुलाउन प्रहरी टोली परिचालन गरिएको छ ।”

सडक अवरुद्ध भएपछि जिल्ला प्रहरी कार्यालय तनहुँबाट प्रहरी निरीक्षक अमृत लामिछानेको कमाण्डमा ट्राफिक प्रहरीसहित १५ जनाको टोली घटनास्थलतर्फ खटाइएको प्रनाउ घिमिरेले जानकारी दिनुभयो ।

पहिरो तथा लेदोमा नम्बर खुल्न नसकेको एउटा मोटरसाइकल समेत परेको प्रहरीले जनाएको छ । घटनामा मानवीय क्षति भने नभएको प्रनाउ घिमिरेले बताउनुभयो । पृथ्वी राजमार्गको महत्वपूर्ण सडक खण्डमा दुवै तर्फको सडक नै अवरुद्ध भएपछि यात्रु तथा सवारीसाधन आवतजावत प्रभावित भएको छ ।

लगातार वर्षा भइरहेकाले थप पहिरो खस्न सक्ने जोखिमसमेत रहेको प्रहरीले जनाएको छ । प्रहरीले सडक खुलाउने कार्यका लागि सम्बन्धित निकायसँग समन्वय गरिरहेको जनाएको छ । सडकको अवस्था जोखिमपूर्ण रहेकाले तत्काल यात्रा नगर्न तथा अत्यावश्यक अवस्थामा सडकको अवस्था बुझेर मात्र आवतजावत गर्न यात्रुलाई आग्रह गरिएको छ ।

तनहुँका विभिन्न स्थानमा अविरल वर्षासँगै पहिरो खस्ने क्रम बढेको छ । यसअघि पृथ्वी राजमार्गको मौरीबास, मादीपुल, घाँसीकुवा, मुसेखोला, छिर्कने, बिमलनगर, डुम्रे आसपास, सानो डुम्रे तथा ऐनापहरा लगायतका क्षेत्रमा समेत पहिरोको जोखिम रहेको प्रहरीले जनाएको छ ।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्