राजनीति

३५ वर्षको हिसाब गर्ने होइन, आगामी ३५ वर्षको योजना ल्याउनुस् : सभापति लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले बहुदलपछिको ३५ वर्षको बेथितिको कुरा गरेर मात्रै अबको राजनीतिक यात्रा पूरा नहुने भन्दै अबको ३५ वर्षको योजना ल्याउन केन्द्रीय सदस्यहरूलाई निर्देशन दिनुभएको छ ।

रास्वपाका केन्द्रीय सदस्यलाई लक्षित गरी शनिबार र आजका लागि राखिएको ‘नीति, सङ्गठन र नेतृत्व’ कार्यक्रमअन्तर्गत पहिलो शृङ्खलाको समापन गर्दै सभापति लामिछानेले देशले सुम्पेको जिम्मेवारी पूरा गर्न खरो उत्रिनुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, “३५ वर्षको हिसाबको कुरा गर्ने होइन, अबको ३५ वर्षको योजना ल्याउनुहोस् । विगतका नेतृत्वले जति सक्नुभयो गर्नुभयो, धन्यवाद । अबको ३५ वर्षमा गर्नुपर्ने कामको योजना अब हाम्रो काँधमा छ ।”

आम नागरिकले पूरा विश्वास गरेर रास्वपालाई ठूलो दलका रूपमा स्थापित गरेका उल्लेख गर्दै सभापति लामिछानेले विश्वभरका प्रबुद्ध समुदायले पार्टी र हाम्रा कामलाई हेरिरहेकाले जनअपेक्षा पूरा गर्नेतर्फ सबै प्रतिबद्ध हुनुपर्नेमा जोड दिनुभयो ।

“राजनीतिमा इमान्दारिता, योग्यता र क्षमता आवश्यक छ । व्यक्तिगत लाभमा देशको राजनीतिक प्रयोग नहोस्, कुनै पनि देशले यति धेरै युवा पार्टी, संसद् र मन्त्री पाएको छैन । आज तपाईँ हामीले बाटो बिरायौँ भने संसारभरि के सन्देश जान्छ भने, युवाको नेतृत्वको काम छैन । युवा भनेर हुँदो रहनेछ, ‘देख्नुभयो नेपाल’ भनेर अन्य देशले भन्नेछन् । नेपाल र नेपालीको शिर झुक्नेछ”, उहाँले भन्नुभयो ।

केही राम्रो गर्न सकिँदैन भने नराम्रो नगर्न सकिने भन्दै सभापति लामिछानेले यतिको प्रतिबद्धता हामीमा आवश्यक रहेको बताउनुभयो । “मेरा कारणले तपाईँहरूको शिर झुक्दैन, अञ्जानमा गल्ती कमजोरी भए होलान्, त्यसलाई सच्याउने र क्षमायाचना गर्ने हो । आगामी दिनमा झुकेको शिर उठाउने प्रयास गर्नेछु, लडेछु भने उठेर फेरि दौडनेछु”, उहाँले भन्नुभयो ।

सभापति लामिछानेले समाजका विभिन्न क्षेत्रका व्यक्ति पार्टीमा आबद्ध भएका कारण सिङ्गो देशको ध्यान सरकार, संसद् र राजनीतिमा गइरहेकाले रास्वपा बढी जिम्मेवार बन्नुपर्नेमा जोड दिनुभयो । इतिहासले दिएका महत्त्वपूर्ण मौकालाई सदुपयोग गर्दै हाम्रा क्रियाकलाप अघि बढ्नुपर्ने भन्दै उहाँले हाम्रो काम कारबाहीले लोकतन्त्र कमजोर हुन नहुने बताउनुभयो ।

“जानेर वा नजाने हामीबाट भएका क्रियाकलापले लोकतन्त्र कमजोर नबनोस्, यो हाम्रो पहिलो जिम्मेवारी हो”, उहाँले भन्नुभयो, “आज विभिन्न संस्था लोकतन्त्र खतरामा पर्ने चिन्तामा छन् । लोकतन्त्र एकै पटकमा गल्र्यामगुर्लम ढल्ने घर होइन । विगतमा राजनीतिक दल र सहिदको बलिदानबाट लोकतन्त्रसहित यी संस्था बलिया भएका हुन् । त्यसकारण हामीले लोकतन्त्र रक्षाका लागि पनि अत्यन्त जिम्मेवार भएर काम गर्नुपर्नेछ ।”

आसन्न स्थानीय तहको निर्वाचनलाई लक्षित गरेर रास्वपाका नेता तथा कार्यकर्ता गाउँगाउँमा जानुपर्नेमा जोड दिँदै सभापति लामिछानेले सरकारले गरेका कामका बारेमा जनतालाई सूचना प्रवाह गर्नुपर्ने धारणा राख्नुभयो । “स्थानीय सरकारमा बलियो उपस्थिति बनाउन हामीले अहिलेदेखि पहल गर्नुपर्छ । अहिले सरकार मात्र बलियो छैन, प्रतिपक्ष पनि बलियो छन् । तसर्थ जनता केन्द्रित भएर काम गर्नुपर्छ”, उहाँले भन्नुभयो, “यसपटक पनि मुलुकले बर्सौंदेखि देखेका सपना पूरा गर्न सकेनौँ भने मुलुक निराशामा प्रवेश गर्छ ।”

सुशासनको मुद्दा उठाएको रास्वपाको सरकारले आजसम्म कुनै एक ठाउँमा अनियमिता गरेको भनी प्रश्न नउठेको उल्लेख गर्दै सभापतिले भन्नुभयो, “यो सबैभन्दा ठूलो उपलब्धि हो । सरकारले सुधारको जग हाल्ने काम गरिरहेकाले यसलाई निरन्तरता दिन हामी एकजुट हुनुपर्छ ।” आफू चाँडै मधेस प्रदेशको राजनीतिक भ्रमणमा निस्कन लागेको जानकारी दिँदै उहाँले अन्य नेता पनि गाउँ गाउँ जाने र पार्टीलाई चलायमान बनाउने बताउनुभयो ।

“सरकारका काम कारबाहीका सम्बन्धमा आम नागरिकले सोधेका जिज्ञासाको स्पष्ट जवाफ हामीसँग हुनुपर्छ । त्यसका लागि तयार हुनुहोला”, सभापति लामिछानेले निर्देशन दिँदै भन्नुभयो, “आम नागरिकले के भनेर मत दिएको थिए, त्यो पूरा गर्नेतर्फ हामी लाग्नुपर्नेछ ।” सरकारलाई पार्टीप्रति जबाफदेही बनाउन विभिन्न प्रयास गरिएको जानकारी दिँदै उहाँले आम नागरिकले सरकारका गतिविधिका बारेमा प्रश्न गर्न सक्ने बताउनुभयो ।

पार्टीले सरकारलाई जिम्मेवार बनाउँदै आएको उल्लेख गर्दै सभापति लामिछानेले पार्टी कार्यालयमार्फत मन्त्री जनतासँग जोडिने अभ्यास नयाँ थालनी भएको बताउनुभयो । उहाँले रास्वपा विधिभन्दा बाहिर नजाने उल्लेख गर्दै भन्नुभयो, “पार्टीले अनुमोदन गरेको राजनीतिक दस्ताबेज, विधि, निर्देशका र नियमावलीको अक्षरशः पालना हुन्छ । हामी विधिभन्दा बाहिर जान सक्दैनौँ, हिजो समायोजनका क्रममा धेरै विषय टुङ्ग्याएका छौँ, त्यसलाई सोहीअनुसार लिनुहोला ।” रासस

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्