राजनीति

मुगुका गणेश नेपालीको आत्म दाहको विषयमा सरकारको ध्यानाकर्षण

काठमाडौँ । प्रतिनिधि सभाको आजको बैठकमा सांसदहरूले मुगुका गणेश नेपालीको मृत्यु लगायत विभिन्न समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको छ । 

बैठकमा आकस्मिक समय लिएर मुगुका सांसद खडकबहादुर शाहीले राज्यको गलत नीतिका कारण गणेश नेपालीले आत्मदाह गर्नुपर्ने अवस्था आएको भन्नुहुँदै जरिवाना बढाउँदैमा कानून कार्यान्वयन हुन्छ भनने भ्रमबाट मुक्त हुन सरकारको ध्यानाकर्षण गराउनुभयो ।

यस्तै सांसदहरू वर्षमान पुन, यशोदाकुमारी बराल, शाहजन खातुन, आसिका तामाङ, ऐनबहादुर महर, गीता गुरुङ लगायतले सरकारको गलत नीतिका कारण सुकुम्वासीहरू सडकमा अलपत्र हुनुपरेको र गणेश नेपालीले आत्मदाह गर्ने अवस्था आएको स्मरण गराउँदै जनताले देश भित्रै गरिखान सक्ने वातावरण बनाउन सरकारको ध्यानाकर्षण गराउनुभयो ।

यस्तै बैठकको शुन्य समयमा सांसदहरूले किसानलाई समयमै मल उपलब्ध गराउन, पटक पटक विद्युत् अवरुद्ध हुने समस्या समाधान गर्न, लागुऔषध नियन्त्रणमा ध्यान दिन सरकारको ध्यानाकर्षण गराउनुभयो ।

यसअघि आजको बैठक सुरु हुनासाथ प्रतिपक्षी दलका सांसदहरूले प्रधानमन्त्री बालेन्द्र शाहले सीमाका सम्बन्धमा दिनुभएको अभिव्यक्ति सच्याउन र संसद्को रेकर्डबाट हटाउन माग गर्दै उठेर विरोध जनाउनुभयो ।

सभामुख डोलप्रसाद अर्यालले समय दिएपछि नेपाली काँग्रेसका सांसद वासना थापाले सीमाका विषयमा प्रधानमन्त्रीको भनाई सच्याउन माग गर्नुभयो ।

सांसद थापाले राज्य आतङ्कका कारण एक युवाले आफ्नै शरीरमा आगो सल्काउँदा समेत राज्य मूकदर्शक बनेको र एम्बुलेन्स सम्म पठाउन नसकी प्रहरी प्रशासन लगाएर अस्पताल पुर्‍याइएको भन्दै त्यो उद्धार थियो कि गिरफ्तारी थियो भनी प्रश्न गर्नुभयो ।

यस्तै नेकपा एमालेका सांसद भूमिका लिम्बु सुब्बाले प्रधानमन्त्रीको अभिव्यक्ति सच्याउन र भारतीय सुरक्षा बल नेपालको सुस्ता क्षेत्रमा प्रवेश गरेको तथा दार्चुलामा भारतीय सैनिक विमानले अनुमति विना नेपाली आकाश प्रयोग गरेको विषयमा भारतलाई कूटनीतिक नोट पठाए–नपठाएको बारे सदनलाई जानकारी गराउन माग गर्नुभयो ।

यस्तै विपक्षी दलका सांसदहरू पार्वती विक, राधिका रम्तेल, ज्ञानबहादुर शाही लगायतले संसदमा उठेका प्रश्नहरू सुनेर जवाफ दिन सरकारको ध्यानाकर्षण गराउनुभयो ।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्