राजनीति

१० जना प्रस्तावित राजदूतहरूको नाम अनुमोदन 

काठमाडौँ । संसदीय सुनुवाइ समितिले सरकारले सिफारिस गरेको १३ जनामध्ये १० जना प्रस्तावित राजदूतहरूको नाम अनुमोदन गरेको छ । 

समितिको आज सिंहदरबारमा बसेको बैठकले  भारतका लागि  प्रस्तावित डा. निश्चलनाथ पाण्डे, चीनका लागि कल्याण राज शर्मा, अमेरिकाका लागि चिरनजङ् थापा, बेलायतका लागि गौरवशमशेर जङ्गबहादुर राणा र जर्मनीका लागि सरु जोशीलाई राजदूतमा अनुमोदन गरेको हो ।

त्यसैगरी  इजरायलका लागि सुरेशकुमार कर्ण, ओमानका लागि पद्माक्षी राणा, दक्षिण कोरियाका लागि प्रा.डा. संगम श्रेष्ठ, स्पेनका लागि प्राप्ति शेरचन र श्रीलङ्काका लागि प्रस्तावित राजदूत डा. मञ्चला कुमारी झाको नाम सुनुवाइ समितिको बैठकले सर्वसम्मतिले अनुमोदन गरेको हो ।

यसअघि समितिको बैठकमा श्रीलङ्काका लागि प्रस्तावित राजदूत डा मञ्चला कुमारी झाले आफूले राजदूत नियुक्त भएपछि नेपालमा बौद्ध अध्ययन, इन्जिनियरिङ र मेडिकल शिक्षा  अध्ययन गर्न आउने विद्यार्थी संख्या वृद्धि गर्न प्रयास गर्ने प्रतिबद्धता जनाउनुभएको थियो ।

साउदी अरबका लागि प्रस्तावित गिरीबहादुर सुनार, मलेसियाका लागि प्रस्तावित चूडामणि खरेल र जापानका लागि प्रस्तावित जिज्ञानकुमार थापामाथि गम्भीर आरोप लागेकाले कार्ययोजना प्रस्तुत गर्न दिएर संसदीय सुनुवाई स्थगित गरिएको थियो ।

गम्भीर आरोपका उजुरी परेकाले सांसदहरुले राजदूतको प्रस्ताव फिर्ता लिन सुझाव दिए पनि सुनुवारले भने आफूमाथि लागेको महिला हिंसा र जर्मनीले डिपोट गरेको आरोप अस्वीकार गर्नुभयो ।

सुनुवाइ समितिले मलेसियाका लागि प्रस्तावित राजदूत चूडामणि खरेल र जापानका लागि प्रस्तावित जिज्ञान कुमार थापाको सुनुवाइ पनि स्थगित गरेको थियो ।

कार्ययोजना प्रस्तुत गरेपछि सांसदहरुले उहाँहरू विरुद्ध थप उजुरी प्राप्त भएकाले विस्तृत अध्ययन गरेर मात्रै सुनुवाइ अघि बढाउन प्रस्ताव गर्नुभएको थियो ।

बैठकमा सांसदहरुले मलेसियाका लागि प्रस्तावित राजदूत खरेलमाथि झापाका केही स्थानीयसँग अनुदान मिलाइदिन्छु भनेर लाखौँ रुपैयाँ लिएको र अहिले राजदूत सिफारिस भएपछि रकम फिर्ता गर्न थालेको, धेरै वटा सामाजिक सञ्जाल चलाएर व्लाकमेलिङ गरेको, म्यानपावर कम्पनीसँग साँठगाँठ रहेको र म्यानपावर कम्पनीकै गाडी प्रयोग गर्ने गरेको भनी उजुरी प्रमाणसहित प्राप्त भएको बताएपछि सभापति बोधनारायण श्रेष्ठले थप अध्ययन गरेर सुनुवाई प्रक्रिया अगाडि बढाउने बताउनुभयो ।

त्यसैगरी जापानका लागि प्रस्तावित थापाको जापानको पिआर रहेको भन्दै सांसदहरुले प्रश्न उठाएपछि थप अध्ययन गर्ने भन्दै सभापतिले श्रेष्ठले सुनुवाई स्थगित गर्नुभएको थियो ।

प्रस्तावित राजदूतहरू चूडामणि खरेल, जिज्ञान कुमार थापा र गिरीबहादुर सुनुवारको प्रस्तावमाथि भने अझै छलफल भइरहेको छ ।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्