अर्थ
नेपाल राष्ट्र बैंकद्वारा २० अर्ब रुपैयाँ बराबरको ऋणपत्र जारी
काठमाडौँ । नेपाल राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले २० अर्ब रुपैयाँ बराबरको ऋणपत्र (बन्ड) का लागि बोलकबोल आह्वान गरेको छ।
केन्द्रीय बैंकद्वारा आज जारी सार्वजनिक सूचनाअनुसार ‘२०८४ ङ’ (सन् २०२७) को ऋणपत्रका लागि अनलाइनमार्फत बोलकबोल गर्न सकिनेछ। यस ऋणपत्रको बोलकबोल प्रक्रियामा नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरू (काउन्टरपार्टीहरू) मात्र सहभागी हुन पाउनेछन्।
बोलकबोलमा सहभागी हुने संस्थाहरूले आफूले प्रस्ताव गर्न चाहेको रकम र ब्याजदर (दशमलव पछि चार अंकसम्म) उल्लेख गर्नुपर्नेछ।
राष्ट्र बैंकका अनुसार न्यूनतम ५ करोड रुपैयाँदेखि अधिकतम कुल आह्वान गरिएको रकमसम्मको सीमाभित्र रही ५ करोड रुपैयाँले नि:शेष भाग जाने गरी बोलकबोल गर्न सकिनेछ।