लस एन्जलस । विवाद र विभाजनको कलहले १२ वर्षदेखि हुन नसकेको नेपाली जनसम्पर्क समिति अमेरिकाको अधिवेशन आगामी अगस्ट १४ देखि १६ सम्म अमेरिकाको वाशिंगटन महानगर क्षेत्रमा हुने स्थान र नयाँ मिति सार्वजनिक गरिएको छ ।
नेपाली कांग्रेस केन्द्रीय कार्यालयको निर्देशन तथा विधानअनुसार लामो समयदेखि रोकिएको अधिवेशन सम्पन्न गर्न विभिन्न राज्य तथा च्याप्टरसँग परामर्शपछि अधिवेशन तयारी समितिले मिति र स्थान तय गरेको हो।
अधिवेशन तयारी समितिका संयोजक धनञ्जय नरसिंह केसीले अधिवेशनले सङ्गठनलाई थप सुदृढ, लोकतान्त्रिक र एकताबद्ध बनाउने विश्वास व्यक्त गर्दै सदस्य, प्रतिनिधि तथा नेपाली कांग्रेसप्रति आस्था राख्ने सबैलाई सक्रिय सहभागिताका साथ अधिवेशन सफल बनाउन आग्रह गरेका छन्।
समितिका मिडिया प्रमुख रामजीवी पन्थका अनुसार अधिवेशनलाई निष्पक्ष र व्यवस्थित बनाउन भक्त थापाको नेतृत्वमा पाँच सदस्यीय निर्वाचन समिति तथा विनोद भट्टको संयोजकत्वमा विधान समिति गठन गरिएको छ। आर्थिक, प्रचार–प्रसार, व्यवस्थापन, स्वयंसेवक र सांस्कृतिकलगायत विभिन्न उपसमितिले पनि तयारीलाई तीव्र बनाएका छन्।
पन्थले १२ वर्षपछि हुन लागेको अधिवेशनले विगतका तिक्तता अन्त्य गर्दै सङ्गठनमा वृहत् एकताको वातावरण निर्माण गर्ने विश्वास व्यक्त गरे। उनका अनुसार अधिकांश च्याप्टरको अधिवेशन सम्पन्न भइसकेको छ भने केन्द्रीय अधिवेशनको सम्पूर्ण तयारी निर्धारित समयभित्र पूरा गरिनेछ।