इमिग्रेशन अपडेट

काठमाडौं । वैदेशिक रोजगार ठगीसम्बन्धी करिब २५ वर्षदेखि विभागमा थन्किएर रहेका हजारौँ मुद्दा तथा अनुसन्धान फायल खोजी, व्यवस्थापन र डिजिटलाइज गर्ने कार्य तीव्र रूपमा अघि बढाइएको छ।

वैदेशिक रोजगार विभागका अनुसार वि.सं. २०५७ सालदेखि अलपत्र अवस्थामा रहेका मुद्धा तथा अनुसन्धानसम्बन्धी महत्वपूर्ण फायलहरू खोजी गरी व्यवस्थित अभिलेख तयार गर्ने काम सम्पन्न भइसकेको छ। करिब २५ वर्षदेखि डम्प अवस्थामा रहेका हजारौँ फायललाई सालवसाली रूपमा वर्गीकरण गरी भौतिक अभिलेख व्यवस्थापन गरिएको विभागले जनाएको छ।

वि.सं. २०४२ सालमा वैदेशिक रोजगार ऐन जारी भएपछि श्रम विभागमार्फत वैदेशिक रोजगारसम्बन्धी कार्य हुँदै आएको थियो। त्यसपछि वि.सं. २०५६ सालमा श्रम तथा रोजगार प्रवर्द्धन विभाग स्थापना भएसँगै वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकका गुनासा दर्ता हुन थालेका थिए। वि.सं. २०६४ सालमा वैदेशिक रोजगार विभाग गठन भएपछि यससम्बन्धी सम्पूर्ण कार्य विभागमार्फत सञ्चालन हुँदै आएको छ।

वैदेशिक रोजगार ठगीका उजुरी बढ्दै गएपछि युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले मुद्दा तथा अनुसन्धानलाई उच्च प्राथमिकतामा राख्दै विभागलाई सक्रिय रूपमा काम गर्न निर्देशन दिँदै आउनुभएको छ। मन्त्री यादवको विशेष चासो तथा विभागकी महानिर्देशक मिरा आचार्यको नेतृत्वमा लामो समयदेखि अलपत्र रहेका फायलहरूको खोजी, व्यवस्थापन र अभिलेखीकरणको कामलाई तीव्रता दिइएको हो।

विभागले हाल फेला परेका सबै फायलहरूको स्क्यानिङ गरी डिजिटल प्रतिलिपि तयार गर्ने कार्य पनि तीव्र गतिमा अघि बढाएको छ। आगामी दिनमा मुद्दा तथा अनुसन्धान प्रक्रियालाई थप प्रभावकारी बनाउन डिजिटल ट्र्याकिङ प्रणाली विकास गर्ने तयारीसमेत गरिएको विभागले जनाएको छ।

वि.सं. २०५७ सालदेखिका उपलब्ध सबै मुद्दा तथा अनुसन्धान फायलको विवरण डिजिटल प्रणालीमा अद्यावधिक गरी न्याय सम्पादन प्रक्रियासँग आबद्ध गर्ने योजना विभागको छ। यसबाट लामो समयदेखि न्यायको प्रतीक्षामा रहेका वैदेशिक रोजगार ठगीका पीडितलाई छिटो, पारदर्शी र प्रभावकारी सेवा उपलब्ध गराउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

About the author
The Himalayan Voice

The Himalayan Voice

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्