मियामी। फिफा विश्वकपअन्तर्गत समूह ‘के’ को अन्तिम खेलमा कोलोम्बिया र पोर्चुगलले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन्।
मियामी स्टेडियममा भएको प्रतिस्पर्धात्मक खेलमा दुवै टोलीले गोलका थुप्रै अवसर सिर्जना गरे पनि कुनै पनि टोलीले गोल गर्न सकेन। बराबरीका बाबजुद दुवै टोली यसअघि नै अन्तिम ३२ अर्थात् नकआउट चरणमा स्थान सुरक्षित गरिसकेका थिए।
खेलको अन्तिम समयमा कोलोम्बियाका डेभिन्सन सान्चेजले जुआन फर्नान्डो क्विन्टेरोको पासमा हेडमार्फत गोल गरेका थिए। तर भिडियो असिस्टेन्ट रेफ्री (VAR) ले सूक्ष्म समीक्षा गरेपछि उक्त गोल अफसाइड ठहर गर्दै रद्द गरिदियो, जसका कारण कोलोम्बिया जितबाट वञ्चित भयो।
दोस्रो हाफमा कोलोम्बियाका लुइस सुआरेजले गोल गर्ने दुई उत्कृष्ट अवसर पाए पनि पोर्चुगलका गोलरक्षक डिएगो कोस्टाले उत्कृष्ट बचाउ गरे। यता पोर्चुगलका ब्रुनो फर्नान्डेस र जोआओ नेभेसले पनि केही अवसर सिर्जना गरे तर कोलोम्बियाको रक्षापंक्ति भेदन गर्न सकेनन्।
यस बराबरीसँगै पोर्चुगल समूहको दोस्रो स्थानमा सीमित रह्यो भने कोलोम्बिया शीर्ष स्थानमा रह्यो।
यसै समूहको अर्को खेलमा प्रजातान्त्रिक गणतन्त्र कंगोले उज्वेकिस्तानलाई ३–१ ले पराजित गर्दै पहिलो पटक विश्वकपको नकआउट चरणमा स्थान बनाएको छ।
सुरुआतमै पछि परेको कंगोले दोस्रो हाफमा उत्कृष्ट पुनरागमन गर्यो। फिस्टन मायेलेले ७८औँ मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाए भने इन्जुरी समयको पहिलो मिनेटमा योआने विसाले तेस्रो गोल गर्दै जित सुनिश्चित गरे।
यो ऐतिहासिक जितसँगै कंगोले अन्तिम ३२ मा इंग्ल्याण्डसँग प्रतिस्पर्धा गर्ने भएको छ। पराजित उज्वेकिस्तान भने प्रतियोगिताबाट बाहिरिएको छ।