इमिग्रेशन अपडेट

पाँच महिनामा एक लाख २५ हजार विदेशी नागरिक अध्यागमनको ट्रयाकिङमा

काठमाडौँ । अध्यागमन विभागले पछिल्लो महिनामा एक लाख २५ हजार विदेशी नागरिकको अभिलेख संकलन गरेको छ। हालसम्म होटेल, एजेन्सी, आन्तरिक विमान कम्पनी र विदेशी नागरिकलाई सेवा प्रवाह गर्ने एक हजार ५४३ वटा सेवा प्रदायक यस प्रणालीमा आबद्ध भएको विभागले जनाएको छ।

जसमध्ये ९४ वटा होटेल मात्र यस प्रणालीमा आबद्ध भएका छन्। प्रणालीमार्फत करिब एक लाख २५ हजार यात्रुको अभिलेख संकलन भएको विभागका निर्देशक टीकाराम ढकालले बताए। उक्त प्रणाली सन् २०२६ जनवरी १ देखि काठमाडौंका तारे होटेलहरूमा र मार्च १ देखि विदेशी नागरिकलाई सेवा प्रवाह गर्ने सबै सेवा प्रदायकहरूमा लागू भएको हो।

मंगलबार विदेशी नागरिक अनुगमन प्रणाली कार्यान्वयनको प्रगतिबारे समीक्षा गरिएको थियो। प्रणालीको उद्देश्य विदेशी नागरिकको सुरक्षा, राष्ट्रिय सुरक्षा, विदेशी नागरिकको गतिविधिको अनुगमन तथा अपराध नियन्त्रण, मुलुक पर्यटकीय दृष्टिकोणले सुरक्षित छ भन्ने सन्देश दिनु यसको प्रमुख उद्देश्य भएको निर्देशक ढकाल बताउँछन्।

गृह मन्त्रालय, नेपाल पर्यटन बोर्ड, पर्यटन विभाग, आन्तरिक राजस्व विभाग, होटेल एसोसिएसन नेपाल, होटेल व्यवसायी महासंघ, पर्यटक प्रहरीलगायतका निकायहरूको सहभागितामा यसबारे छलफल भएको छ।

छलफलमा सबै होटेलहरू संघ र एसोसिएसनसँग नजोडिएका कारण प्रणालीमा आबद्ध हुने होटेलको संख्या कम भएको, प्रणालीसम्बन्धी सचेतनाको कमी भएको, साना होटेल प्रणालीमा आबद्ध हुन नसकेकोलगायतका विषय उठेका थिए। यसैगरी, होटेलहरूको अनुगमन गर्ने पर्यटन विभाग र विदेशी नागरिकलाई सेवा प्रवाह गर्ने सेवाप्रदायकहरूका अनुगमनकारी निकायहरूले अनुगमनमा तीव्रता दिनेसमेत निर्णय भएको छ।

होटेललगायत अन्य प्रकृतिका सेवा प्रदायकहरूलाई प्रणालीमा आबद्ध गर्न विभिन्न स्थानमा सचेतना कार्यक्रम सञ्चालन गर्ने निर्णय भएको छ। प्रणाली राष्ट्रिय सुरक्षाको विषय भएको र धेरै होटल प्रणालीमा आबद्ध हुन नआएकाले अध्यागमन विभागले अन्य उपायको खोजी गरिरहेको विभागका महानिर्देशक रामचन्द्र तिवारीले बताए।

आन्तरिक राजस्व विभाग, पर्यटन विभागबाट होटेललाई प्रवाह हुने सेवासँग प्रणालीलाई आबद्ध गर्ने र प्रणालीमा आबद्ध भएका होटेलहरूको सूची अध्यागमनको नेपाली पोर्टमा राखी भिसा आवेदन गर्दाकै बखत आबद्ध होटेल छनाेट गर्ने व्यवस्था लागू गर्ने भन्नेलगायतका अन्य विकल्पहरूबारे विभागमा छलफल भइरहेको महानिर्देशक तिवारीले जानकारी दिएका छन्।

About the author
The Himalayan Voice

The Himalayan Voice

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.