डायस्पोरा

२७ जना नेपाली कम्बोडियाको जेलमा, ठगीमा परेकालाई उजुरी गर्न आग्रह

बैंकक । थाइल्याण्डको बैंककस्थित नेपाली राजदूतावासले विवरण सङ्कलनका लागि आह्वान गरेअनुसार हालसम्म कम्बोडियामा रहेका २११ जना नेपालीले अनलाइन फाराम भरेका छन् । यसमा ९ जना महिला रहेका छन् ।

प्राप्त तथ्याङ्कअनुसार यी नेपालीहरू सन् २०२२ मेदेखि २०२६ मे महिनाको अवधिमा कम्बोडिया पुगेको देखिएको छ । दूतावासले विवरण उपलब्ध गराएकामध्ये ट्राभल डकुमेन्ट आवश्यक पर्ने व्यक्तिहरूको कागजात तयार गरी कम्बोडिया पठाइसकिएको जानकारी दिएको छ ।

कम्बोडियामा रहेका नेपालीहरूमध्ये २७ जना विभिन्न अभियोगमा पुर्पक्षका लागि त्यहाँका विभिन्न कारागारमा थुनामा रहेका छन् । दूतावासले पुर्पक्षको प्रक्रियाका क्रममा स्थानीय भाषा जान्ने वकिल आवश्यक पर्न सक्ने भन्दै सम्बन्धित पक्षलाई सचेत गराएको छ ।

यस्तै पछिल्लो समय २५ जना नेपालीहरू कम्बोडियाबाट नेपाल फर्किने क्रममा रहेको सूचना प्राप्त भएको छ । यात्रालाई सहज बनाउन दूतावासले कनेक्टिङ फ्लाइट भएको टिकट मात्र खरिद गर्न सुझाव दिएको छ । कनेक्टिङ फ्लाइट नहुँदा ट्रान्जिट मुलुकको भिसा चाहिने र लगेज पुनः चेक–इन गर्नुपर्ने झन्झटले यात्रा कठिन हुन सक्ने दूतावासको भनाइ छ ।

कम्बोडिया पुगेका नेपालीहरूले त्यहाँ पुग्ने क्रममा विभिन्न व्यक्तिहरूलाई २ देखि ८ लाख रुपैयाँसम्म बुझाएको विवरण दूतावासमा प्राप्त भएको छ। यसरी ठगीमा परेका व्यक्तिहरूलाई नेपाल फर्किनासाथ काठमाडौँको बबरमहलस्थित मानव बेचबिखन अनुसन्धान ब्युरोमा उजुरी दर्ता गर्न दूतावासले अनुरोध गरेको छ ।

दोषीलाई कानुनी कारबाही गराउन र बुझाएको रकम असुलउपर गर्ने प्रक्रिया अघि बढाउन यो कदम आवश्यक रहेको दूतावासले उल्लेख गरेको छ।

About the author
The Himalayan Voice

The Himalayan Voice

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.