एक्सक्लुसीभ

हट्यो बागमती किनार अतिक्रमण

काठमाडौँ। अव्यवस्थित बस्ती विस्तार गरेर बागमती नदीकिनारमा गरिएको अतिक्रमण दशकौँपछि हटेको छ । सरकारले काठमाडौँ महानगरपालिका वडा नं. ११ स्थित थापाथली, वडा नं. ९ स्थित गैरीगाउँ र सिनामङ्गलमा बागमती नदीकिनार कब्जा गरेर बनाइएका घरटहरा शनिबार भत्काएको हो । थापाथलीमा डोजर चलेपछि गैरीगाउँ, सिनामङ्गल र महानगरकै वडा नं. ३१ स्थित शान्तिनगरमा रहेका सुकुमवासी बस्तीका बासिन्दाले धेरैजसो घरटहरा आफैँ भत्काएर सरसामान सारेका छन्

प्रधानमन्त्री वालेन्द्र शाहले शुक्रबार सुकुमवासी व्यवस्थापन गर्ने सार्वजनिक प्रतिबद्धता व्यक्त गरेपछि शान्तिपूर्ण रूपमा घरटहरा हटाइएको हो । यसअघि सरकारी निकायबिचमै समन्वय नहुँदा सुकुमवासी बस्तीका घरटहरा भत्काएर बागमती नदीकिनार खाली बनाउने प्रयास असफल हुँदै आएको थियो । सरकारले वास्तविक सुकुमवासी पहिचान गरी व्यवस्थापन जिम्मा लिएपछि यो काम सार्थक हुँदै छ ।

वास्तविक सुकुमवासी पहिचान गरिने 

सरकारले काठमाडौँ, ललितपुर र भक्तपुरका नदी र खोलाकिनार, जोखिमपूर्ण सार्वजनिक र सरकारी जग्गा अतिक्रमण गरी निर्माण गरिएको बस्ती खाली गराउने अभियान तीव्र पारिएको जनाएको छ । प्रधानमन्त्रीका सञ्चार सहजकर्ता सुरेन्द्र बजगाईंका अनुसार काठमाडौँ महानगरपछि कागेश्वरी मनोहरा नगरपालिका वडा नं. ८ को गोठाटार बुद्धचोक र वडा नं. ९ को मनोहरा टोलमा रहेका अनधिकृत रूपमा विस्तार बस्ती खाली गरिने छ । मनोहरा खोलाकिनारको बस्ती शनिबार खाली गर्न सुरु गरिएको छ ।

विभिन्न स्थानमा बसोबास गरिरहेका १४४ परिवार सरकारको सम्पर्कमा आएको र अन्य स्थानबाट पनि सम्पर्कमा आउने क्रम जारी रहेको उहाँले बताउनुभयो । सम्पर्कमा आएका परिवारलाई दशरथ रङ्गशाला पु¥याएर विवरण सङ्कलन गरी काठमाडौँका होटलमा राखिने उहाँले बताउनुभयो । घरायसी सामान कीर्तिपुरको सुन्दरीघाटस्थित राधास्वामी सत्सङ व्यास नेपालमा सुरक्षित राखिएको पनि उहाँले बताउनुभयो ।

सञ्चार सहजकर्ता बजगाईंका अनुसार होटलमा राखिएका परिवारमध्ये वास्तविक सुकुमवासी पहिचान आइतबार सुरु हुने छ । वास्तविक सुकुमवासी ठहरिए दुई साताभित्र नागार्जुन नगरपालिका वडा नं. १ स्थित सरकारी अपार्टमेन्टमा राखिने र दीर्घकालीन व्यवस्थापन कार्य आरम्भ गर्ने उहाँले बताउनुभयो ।

तिनै जिल्लामा अव्यवस्थित बस्ती 

सहरी विकास मन्त्रालय अन्तर्गत अधिकारसम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिका आयोजना उपनिर्देशक, सिनियर डिभिजनल इन्जिनियर एवं सूचना अधिकारी उद्धव नेपालका अनुसार काठमाडौँ, भक्तपुर र ललितपुरका नदी तथा खोलाकिनारमा अव्यवस्थित बसोबास रहेको छ । समितिका अध्ययन प्रतिवेदनमा तीन हजार ४९६ घरधुरी अव्यवस्थित रूपमा बस्दै आएको देखिएको छ । काठमाडौँ महानगरमा सबैभन्दा बढी दुई हजार २४५, कागेश्वरी मनोहरामा ९०, बूढनीलकण्ठ नगरपालिकामा १५६, ललितपुर महानगरमा १७ र भक्तपुर नगरपालिकामा ७७३ घरटहरा भएको प्रतिवेदनमा उल्लेख छ ।

काठमाडौँ, ललितपुर र भक्तपुरका २७ वडामा नदी र खोलाकिनार अतिक्रमण भएको छ । इन्जिनियर नेपालका अनुसार बागमती नदीकिनारका छ स्थानमा अतिक्रमण गरिएको छ । पञ्चायतकालदेखि नै खोला तथा नदीकिनार अतिक्रमण गरी बस्ती बसाउन थलिएको थियो तर २०५० देखि यो क्रम बढ्यो । २०५० सालयताको विवरण अनुसार सिनामङ्गल र गैरीगाउँ क्षेत्रमा १६२, शान्तिनगरमा ४७६, थापाथलीमा १४३ घरधुरीको बसोबास थियो । त्यसै गरी काठमाडौँ महानगर वडा नं. १० शङ्खमुलमा १५० घरधुरी र वङ्शीघाटमा १९३ घरधुरी र वडा नं. १४ स्थित बल्खु जागरणमार्गमा ४०१ घरधुरीको बसोबास छ ।

खोलाकिनार पनि अतिक्रमण 

बागमती नदीसँगै अन्य खोलाकिनारमा पनि अव्यवस्थित बसोबास छ । काठमाडौँ महानगर वडा नं. १० स्थित देवीनगरमा ४० र शान्तिविनायकमा ३६, वडा नं. ४ स्थित धुम्बाराहीमा छ र बालुवाटारमा १४, वडा नं. २९ स्थित अनामनगरमा २३ र वडा नं. ३२ स्थित जडीबुटी, मिलनचोकमा ११४ घरधुरीको बसोबास छ ।

समितिले सङ्कलन गरेको तथ्याङ्क अनुसार काठमाडौँ महानगरपालिका वडा नं. १६ जागृतिमार्गमा १२३ र बुद्धज्योतिमा ७५ घरधुरी, वडा नं. २ ढिकुरेमा १९ र वडा नं. १५ स्वयम्भूमा ४६ घरधुरीको बसोबास छ । कागेश्वरी मनोहरा नगरपालिका वडा नं. ८ स्थित गोठाटार बुद्धचोकमा ७७ र वडा नं. ९ स्थित कागेश्वरी मनोहरा टोलमा १३ घरधुरी, बूढानीलकण्ठ नगरपालिका वडा नं. १० पाथिभरामा १४२ र वडा नं. १२ कपनमा १४ घरधुरीको बसोबास छ । २०५० को दशकपछि नदीकिनार अनियन्त्रित अतिक्रमण हुँदा सिनामङ्गलस्थित मुख्य सडकदेखि तीनकुनेसम्म बागमती नदी साँघुरिएको छ ।

सङ्घ र स्थानीय तहको समन्वय 

सङ्घीय सरकार र स्थानीय सरकारको समन्वयमा सुकुमवासी बस्ती हटाइँदै छ । नेपाल प्रहरी र काठमाडौँ महानगरका सुरक्षाकर्मीले सामान उठाउन र ढुवानी गर्न प्रत्यक्ष सहयोग गरेका छन् । यसअघि अधिकारसम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले बागमती नदीकिनारको अतिक्रमण हटाउन खोज्दा राष्ट्रिय भूमि आयोगले असहयोग गरेको थियो । समितिले २०७९ मा पटक पटक सूचना प्रकाशित नदीकिनार खाली गराउने प्रयास गरेको थियो । त्यसअघि २०७७ पुस ८ र २०७८ मङ्सिर २७ गते पनि समितिले सूचना प्रकाशित गरेको थियो । समितिले २०७९ मङ्सिर ४ गतेसम्मको म्याद दिएर घरटहरा हटाउन भनेको थियो । सूचनामा तोकिएको अवधिमा घरटहरा नहटाएमा काठमाडौँ महानगरपालिका र सरोकारवालासँगको समन्वयमा भत्काउने, हटाउने, खाली गराउने चेतावनी समितिले दिएको थियो । तर राष्ट्रिय भूमि आयोगले सुकुमवासी समस्या समाधानका लागि विस्तृत अध्ययन र जग्गा धनीपुर्जा वितरण गरिरहेकाले समितिको निर्णय कार्यान्वयन नहुने भन्दै आएको थियो ।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्