नेपाल

सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको काम तत्काल अघि बढ्छः प्रधानमन्त्री शाह

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहले सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको काम तत्काल अघि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

मङ्गलबार सिंहदरबारस्थित आफ्नै सरकारी निवासमा सुदूरपश्चिम प्रदेशका सांसदसँग सामूहिक भेट गरी उहाँले सो प्रतिबद्धता व्यक्त गर्नुभएको हो ।

त्यस अवसरमा उहाँले सो विश्वविद्यालय अघि बढाउनका लागि आवश्यक बजेट तत्काल निकासा गराउने समेत बताउनुभएको भेटमा सहभागी कञ्चनपुर क्षेत्र नम्बर १ का सांसद जनकसिंह धामीले जानकारी दिनुभयो ।

सो अवसरमा प्रधानमन्त्री शाहले चालु आर्थिक वर्षको बजेट सीमित भएकाले त्यसले धान्ने गरी तत्काल गर्नुपर्ने कामलाई सरकारले प्राथमिकताका साथ अघि बढाउने समेत बताउनुभएको थियो ।

आफूहरूले प्रधानमन्त्रीलाई भारतसँगको सीमा क्षेत्रको व्यवस्थापन, खानेपानी, शिक्षा, स्वास्थ्य क्षेत्रका अति आवश्यक विषयको बारेमा पनि जानकारी गराएको सांसद धामीले बताउनुभयो ।

उहाँले भन्नुभयो, “प्रधानमन्त्रीको तर्फबाट खासगरी दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय जो छ । त्यसलाई अगाडि बढाउने भन्ने पनि आएको छ । र गोकुलेश्वर एयरपोर्टलाई कसरी छिटो सञ्चालनमा ल्याउन सकिन्छ ? त्यो कुरा पनि आएको छ । यी दुई वटा कुराहरू महत्त्वपूर्ण रूपमा आएका छन् ।”

बैठकमा प्रधानमन्त्री शाहले गोकुलेश्वर विमानस्थल सञ्चालनको कामलाई पनि द्रुत गतिमा अघि बढाउने आश्वासन दिनुभएको थियो । धनघढी–दीपायल द्रुतमार्ग, अति जरुरी सडक, खानेपानी लगायतका जनताका समस्याबारे पनि प्रधानमन्त्री शाहलाई ब्रिफिङ गरिएको भेटमा सहभागी कैलाली क्षेत्र नम्बर ४ का सांसद खेमराज कोइरालाले बताउनुभयो ।

उहाँले भन्नुभयो,“प्रधानमन्त्रीले यो आर्थिक वर्षमा हाम्रो बजेटको आकारलाई हेरेर तत्काल समाधान गर्नैपर्ने अत्यन्तै जरुरी योजनाको बारेमा कुरा राख्नु होला भनेर भनेर सुरुमै जानकारी भए बमोजिम हामीले अत्यन्तै जरुरी, जो गर्नैपर्ने योजना छन् । त्यसको बारेमा हामीले कुरा राखेका थियौं । मैले मेरो क्षेत्रमा जेनजी आन्दोलन पश्चात क्याबिनेटबाट गरिएको निर्णयहरू जो रोकिएर बसेका छन । त्यसलाई अघि बढाउन भनेका छौं । धनगढी–दिपायल फास्ट ट्रयाकलाई अघि बढाउने कुरा गरेका छौं । जरुरी सडक, खानेपानी, नेटवर्कलगायतका विषयमा पनि हामीले राखेका छौं । जनताको समस्याको विषय समग्रतामा हामीले राखेका छौं ।”

प्रधानमन्त्री शाहले विकास निर्माणको कामलाई प्राथमिकताका साथ अघि बढाउनका सांसदसँगको भेटवार्तालाई निरन्तरता दिइरहनुभएको हो । भेटमा प्रधानमन्त्री शाहले अति जरुरी जनचासोको योजनालाई रोकेर राख्ने पक्षमा सरकार नरहेको बताएको सहभागी सांसदले जानकारी दिएका छन्।

About the author
The Himalayan Voice

The Himalayan Voice

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.