नेपाल

लिपुलेक मुनिका छाङरु र तिङ्करका मतदातालाई सदरमुकाममै मतदानको व्यवस्था

दार्चुला। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि दार्चुलामा दुई अस्थायी मतदान केन्द्र कायम गरिएको छ ।

जिल्ला निर्वाचन कार्यालयका अनुसार ब्यासँ गाउँपालिका–१ का छाङरु र तिङ्कर गाउँका मतदातालाई लक्षित गरी सदरमुकाम खलङ्गामा अस्थायी मतदान केन्द्र तोकिएको हो । मुख्य निर्वाचन अधिकृत भुवन गिरीका अनुसार भौगोलिक विकटता र मौसमी अवस्थाका कारण लिपुलेक मुनिका छाङरु तथा तिङ्करका मतदाता हाल खलङ्गामै बसोबास गरिरहेका छन् । सोही कारण उनीहरूलाई सहज रूपमा मतदान गर्न खलङ्गामै मतदान केन्द्र कायम गरिएको हो । छाङरुका मतदाताका लागि कैलाशपति आधारभूत विद्यालय र तिङ्करका मतदाताका लागि मोति महिला सङ्घ आधारभूत विद्यालयमा अस्थायी मतदान केन्द्र तोकिएको उहाँले बताउनुभयो ।

निर्वाचन कार्यालयले सार्वजनिक गरेको विवरण अनुसार कैलाशपति आधारभूत विद्यालयमा ३ सय ७५ र मोति महिला सङ्घ आधारभूत विद्यालयमा २ सय ४४ मतदाता सूचीकृत छन् । विसं २०७९ को निर्वाचनमा छाङरुमा ३ सय ८३ र तिङ्करमा २ सय ३४ मतदाता रहेका थिए । यसअघि स्थानीय तह निर्वाचन पनि ती क्षेत्रमै सम्पन्न गरिएको मुख्य निर्वाचन अधिकृत गिरीले बताउनुभयो ।

यसपटक गत मङ्सिर महिनामै स्थानीय बासिन्दा सदरमुकाम झरेपछि यही माघ ५ गते मतदान केन्द्र खलङ्गामै राख्न माग गरिएको थियो । सो मागलाई मध्यनजर गर्दै अस्थायी मतदान केन्द्र कायम गरिएको मुख्य निर्वाचन अधिकृत गिरीले बताउनुभयो । सदरमुकाममै मतदान केन्द्र तोकिँदा मतदाताको सहभागिता बढ्ने अपेक्षा गरिएको छ ।

जिल्लाभर प्रतिनिधिसभा निर्वाचनका लागि एक सय १२ मतदानस्थल र एक सय ४३ मतदान केन्द्र तोकिएका छन् । प्रमुख जिल्ला अधिकारी अनिल पौडेलका अनुसार तीमध्ये १५ मतदानस्थल अतिसंवेदनशील, ३२ संवेदनशील र ६५ सामान्य अवस्थामा राखेर सुरक्षा योजना बनाइएको छ ।

मतदाता सङ्ख्याको विवरण अनुसार यसपटक दार्चुलामा कुल ९२ हजार ९ सय ४८ मतदाता रहेका छन् । तीमध्ये ४७ हजार ७ सय ५५ पुरुष र ४५ हजार एक सय ९३ महिला मतदाता रहेका छन् । निर्वाचनलाई व्यवस्थित, निष्पक्ष र शान्तिपूर्ण रूपमा सम्पन्न गर्न सबै तयारी तीव्र पारिएको प्रजिअ पौडेलले बताउनुभयो ।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्