नेपाल

अफ्रिकन स्वाइन फिभर पुष्टिपछि बंगुरको मासु बेच्न प्रतिबन्ध

पश्चिम नवलपरासी । पश्चिम नवलपरासीको सदरमुकाम परासीमा लाग्दै आएको साप्ताहिक हाटबजारमा बिक्री गरिएको बंगुरको मासुमा सङ्क्रमण पुष्टि भएपछि मासु बेच्न प्रतिबन्ध लगाइएको छ । स्थानीय हाटबजार व्यवस्थापन गर्दे आएको रामग्राम नगरपालिकाले सूचना जारी गर्दे हाटबजारमा बंगुर सुंगुरको मासु बिक्री गर्न प्रतिबन्ध लगाएको जनाएको छ ।

गत कात्तिक २६ गते बुधबार परासी हाटब जारमा दुई जना व्यापारीले शङ्कास्पद बंगुरको मासु बिक्री गरेको अवस्थामा भेटिएपछि उक्त मासुको नमुना परीक्षण गर्दा अफ्रिकन स्वाइन फिभर पुष्टि भएको थियो ।

भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र परासीमा रहेको पशु रोग अन्वेषण प्रयोगशालामा परीक्षण गर्दा रोग पुष्टि भएपछि पिसिआर परीक्षणका लागी काठमाडौँ पठाइएकोमा त्यहाँ पनि पोजेटिभ देखिएपछि जोखिम बढेको भन्दै बिक्री वितरणमा प्रतिबन्ध लगाइएको रामग्राम नगरपालिकाले जनाएको छ ।

यस्तै जिल्ला प्रशासन कार्यालयले पनि सूचना जारी गरेर हाटबजारमा बंगुरको मासु बिक्री वितरण नगर्न भनेको छ । स्रोतका अनुसार रोगी बंगुर र सुंगुर किसानहरूले घरबाट बिक्री नभएपछि बजार क्षेत्रमा बिक्री गर्ने गरेको बताइएको छ ।

सुनवलमा बंगुर पालन गर्दे आएका किसान पृतम गुरुङले भारतबाट तस्करले सेटिङ् मिलाएर रोगी बंगुर ल्याएर बेच्ने गरेको गुनासो गर्नुभयो । स्थानीय प्रशासनले चासो नदेखाउँदा समस्या भएको भन्दै नियन्त्रणका लागि प्रमुख जिल्ला अधिकारीसँग आग्रह गर्नुभयो । भारतबाट आयातित बिना परीक्षणको बंगुरले किसानहरूले पाल्दै आएको बंगुर एकैपटक मर्ने जोखिम बढेको उहाँको भनाइ छ । अहिले रामग्राम क्षेत्रका केही फर्मका बंगुर बिरामी परेको पशु सेवा विज्ञ केन्द्रले जनाएको छ । पशु सेवा विभागले यस रोगलाई पशुहरूमा उच्च मृत्युदर भएको ‘अति खतरनाक’ महामारीजन्य रोग भनेको छ । फर्ममा बंगुर पाल्दै आएका किसानहरूलाई सर्तकता अपनाउन विज्ञहरूले आग्रह गरेका छन् ।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्