नेपाल

६ छोरा र पाँच छोरीसहित एकै परिवारका १६ सम्पर्कविहीन

सिन्धुलीमाढी । सिन्धुलीको गोलन्जोर गाउँपालिका–६, छेत्पा नजिक भण्डास विप्परकटेरीमा एकै घरका लोपोन्मुख हायु परिवारका १६ जना चार दिनदेखि सम्पर्कविहीन भएका छन् ।

बिहीबार दिउसो सुँगुर काटेर खाएर एकै परिवारका १६ जना सम्पर्कविहीन भएपछि प्रहरी र स्थानीयले उनीहरूको खोजी कार्य तीव्र बनाएका छन् । सम्पर्कविहीन हुनेहरूमा घरमुली ५२ वर्षीया उर्मिला हायु, उहाँका छ भाइ छोरा, पाँच बहिनी छोरी, बुहारी, जेठो ज्वाइँ र नाति नातिनी रहेका स्थानीयले बताएका छन् ।

उनीहरूले लोपोन्मुख सामाजिक सुरक्षा भत्ता एक लाख ८० हजार रुपियाँ बैँकबाट झिक्न बिहीबार नै वडा कार्यालयबाट सिफारिस लिएको वडा सचिव गायत्री भण्डारीले जानकारी दिनुभयो । वडा कार्यालयका अनुसार सम्पर्कविहीन रहेकाहरूमा ५२ वर्षीया उर्मिला हायु, २७ वर्षीया कमला, २३ वर्षीया कोमलमाया( बुहारी), २२ वर्षीया उषा, १९ वर्षीया सुजता, २१ वर्षीया अस्मिता, २९ वर्षीय राजु जेठो छोरा, र माइलो छोरा हिमाल रहेका छन् ।

त्यसै गरी १६ वर्षीय लालबहादुर, १४ वर्षीय वेगबहादुर, ११ वर्षीय लक्ष्मण, १२ वर्षीय सुवर्ण, १० वर्षीय ओमकुमारी, ४ वर्षीय रियासा र १ वर्षीय अर्जुन हायु रहेका छन् । एकलासमा रहेको घरमा सोमबार प्रहरी सहितको टोली पुग्दा कोही मानिस भेटिएका छैनन् । अरू बस्तीभन्दा टाढा एकान्तमा उनीहरूको घर रहकाले कहिलेदेखि उनीहरू हराएको भन्ने एकिन् नभएको वडा अध्यक्ष रबिनकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, ‘घरभन्दा अलिमाथि उनीहरूले पाडी पालेका रहेछन् । शुक्रवारदेखि पाँडी भोकै भएकाले उनीहरू पनि त्यही दिनदेखि नै हराएको अनुमान लगाएका छौँ । उनीहरूको आफन्त पत्ता लगाई सोधखोज गरी सम्भावित ठाउँमा खोजी गर्ने कार्य भई रहेको छ ।’

वडाध्यक्ष श्रेष्ठका अनुसार भान्सा घर जल्नुका साथै भाँडाहरू अस्तव्यस्त अवस्थामा रहेका छन् । भान्सा केही जलेको समेत पाइएको छ । खोरमा पाँच वटा बाख्रा समेत भोकै अवस्थामा रहेको अवस्थामा भेटिएको छ । कुखुराहरू चरिरहेका छन् । प्रहरी उपरीक्षक लालध्वज सुवेदीले सम्पर्कविहीन भएका हायु परिवारको खोजतलास भई रहेको बताउनुभयो ।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्