कविता

हराएको गाउँ

जुन दिनदेखि

तिम्रो झेली सिंहदरबार

समृद्धिको कर्कस सिट्ठी फुक्दै

मेरो गाउँ पस्यो, हराउँदै गए

मेरी आमाका सपनाहरू, भत्किँदै गयो

मेरो म्हेमेको निदार जस्तै बारीको पाटो

बिलाउँदै गयो मेरो डम्फुको कइरन

हराउँदै गए डम्फु बजाउने हातहरू ।

खै कसले सुनाउलान्

मेरो पेङ्दोर्जे म्हेमेको कथा

खै कसले लेख्लान्

ह्रिन्जेन दोर्जेको स्वाभिमानको इतिहास

कसले गाउलान् ताम्सालिङको गीत ?

भत्किँदै गए

इतिहास बोकेर उभिएका गोन्पो, म्हाने र छ्योर्तेनहरू

म यतिखेर

मेरो आखेको पैतालाको

डोब खोज्दै खोज्दै

आइपुगेकी छु यो आदिम माटोमा

मेरो मामको आँसुले भिजेको माटो खोज्दै खोज्दै

आइपुगेकी छु यो आँगनमा

यही गाउँको छातीमा

हेर्नु छ मलाई

मेरो म्हेमेले रोपेको बुद्धचित्तको बोट

यही गाउँको शिरमा ठडिएको सप्तरङ्गी लुङ्दर ।

र त्यसपछि, सुनाउनु छ,

शासकलाई पेङ्दोर्जेको कथा

गाउनु छ, ताम्सालिङको गीत

मेरा पुर्खाको रगत र पसिनाले सिञ्चित

यो माटो, हुन सक्दैन तिम्रो पुर्खाको बिर्ता

स्वीकार्य छैन हामीलाई

मासिन्या इतिहासको निरन्तरता

यो माटो

मेरै म्हेमेहरूको अस्थिपञ्जरमाथि उभिएको माटो हो

मेरै मामहरूको चीत्कार बोकेर उभिएको माटो हो

बर्सौंदेखिको आत्मसम्मानको भोक बोकेर

आज उभिएको छु तिम्रोसामु

छेक्न सक्ने छैनौ तिमी मेरो बाटो

रोक्न सक्ने छैनौ मेरो विद्रोही आवाज ।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्