अमेरिका

स्पेसएक्सद्वारा अमेरिकी सेनाको गोप्य अन्तरिक्ष यान ‘एक्स-३७ बी’ सफलतापूर्वक प्रक्षेपण

वासिङ्टन, (एफपी) । स्पेसएक्सको ‘फाल्कन-९’ नामक रकेटले बिहीबार राति अमेरिकी सेनाको गोप्य अन्तरिक्ष यान ‘एक्स-३७ बी’ बोकेर आकाशतर्फ उडान भरेको छ । ‘एक्स-३७बी’ एक मानव रहित, पुनः प्रयोग गर्न मिल्ने अन्तरिक्ष यान हो, जुन अमेरिकी अन्तरिक्ष सेनाको स्वामित्वमा छ र विभिन्न गोप्य परीक्षण तथा प्रविधि विकासका उद्देश्यका लागि प्रयोग गरिन्छ ।

यसले पृथ्वीको कक्षामा रहँदै नवीनतम प्रविधिको परीक्षण गर्छ । यसको विशेषता भनेको लामो समयसम्म कक्षामा रहन सक्ने क्षमता र स्वतन्त्र रूपमा पृथ्वीमा फर्कन सक्ने संरचना हो । स्पेसएक्सको प्रत्यक्ष प्रसारणअनुसार उक्त रकेट सफलतापूर्वक राति ११ः५० बजे (शुक्रबार बिहान ३ः५० जीएमटी) प्रक्षेपण गरिएको हो ।

अमेरिकी अन्तरिक्ष सेनाले उक्त यानको अभियानमा ‘विविध परीक्षण तथा प्रयोगात्मक उद्देश्य’ रहने बताएको छ । “यी परीक्षण र प्रयोगहरूमा अहिलेसम्म अन्तरिक्षमा परीक्षण गरिएको सबैभन्दा सक्षम क्वान्टम जडत्व संवेदक (इनर्शियल सेन्सर) समावेश छन्,” सेनाले गत महिनाको विज्ञप्तिमा उल्लेख गरेको थियो ।

“अभियानले अमेरिकी अन्तरिक्षमा आधारित संचार संरचनाको मजबुती, कार्यकुशलता र सुरक्षामा सुधार ल्याउने छ,” विज्ञप्तिमा भनिएको छ । सानो यात्रुवाहक बस जत्रो आकारको एक्स-३७ बी यान सन् २०११ मा सेवा निवृत्त गरिएका मानवरहित अन्तरिक्ष यानको सानो स्वरूप जस्तो देखिन्छ । अघिल्ला अभियानमा यस यानले अमेरिकी अन्तरिक्ष संस्था नासाका लागि विभिन्न परीक्षण सम्पन्न गरिसकेको छ ।

सन् २०१० देखि सञ्चालनमा रहेको यो यानलाई अमेरिकी वायु सेनाका लागि बोइङ कम्पनीले युनाइटेड लञ्च एलायन्समार्फत निर्माण गरेको हो । यो यान ३० फिट (९ मिटर) लामो, १५ फिट चौडाइ भएको पंखसहितको र सौर्य ऊर्जा प्रणालीबाट सञ्चालन हुने यान हो ।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्