साहित्य

साहित्यकार सागर गैरेको नियात्रा सङ्ग्रहको विमोचन

नेपालगन्ज । बाँकेको कोहलपुरका साहित्यकार सागर गैरेको नयाँ नियात्रा सङ्ग्रह ‘एउटा अल्बाट्रस: प्रशान्त महासागरदेखि कालासागरसम्म’ को गृह विमोचन कोहलपुरमा गरिएको छ।

करिब तीन साताअघि काठमाडौँमा सार्वजनिक गरिएको कृतिलाई यसपटक गृहनगरका साहित्यकार, कवि, लेखक तथा सञ्चारकर्मीबीच विशेष समारोहका साथ विमोचन गरिएको हो। विमोचनका साथै कृतिमाथि समीक्षात्मक बहस र कृतिकारसँग प्रत्यक्ष परिसंवादसमेत आयोजना गरिएको थियो।

हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठानको आयोजनामा भएको कार्यक्रममा कृतिको गृह विमोचन प्रतिष्ठानका अध्यक्ष डा. पुष्कर रिजाल, प्राज्ञसभा सदस्य महानन्द ढकाल, साहित्यकार भरत रानाभाट, कवि बीपी अस्तु र कृतिकारकी जीवनसंगिनी यशोदा गैरेले संयुक्त रूपमा गर्नुभयो।

प्रतिष्ठानका अध्यक्ष डा. रिजालका अनुसार यो साहित्यकार गैरेको चौथो साहित्यिक कृति हो। यसमा भारतको गोवा, मलेसिया, भियतनाम, फिलिपिन्स र जर्जियाको यात्राका अनुभूति समेटिएका छन्। साहित्यका विभिन्न विधामा सक्रिय गैरेको यसअघि ‘बलैगाउँदेखि बाकुसम्म’ नियात्रा सङ्ग्रह, ‘लकडाउन’ आत्मपरक निबन्ध सङ्ग्रह तथा गत वर्ष प्रकाशित ‘मोहर’ उपन्यास सार्वजनिक भइसकेका छन्।

कार्यक्रमको प्रमुख आकर्षण कृतिमाथिको समीक्षा र कृतिकारसँगको परिसंवाद बन्यो। लुम्बिनी वाङ्मय प्रतिष्ठानका अध्यक्ष तथा नियात्राकार भरत रानाभाटले कृतिमाथि समीक्षात्मक टिप्पणी गर्दै गैरेका नियात्रामा अनुभूतिको तीव्रता, यथार्थ र कल्पनाको सन्तुलित संयोजन भेटिने बताउनुभयो।

सो अवसरमा गरिएको संवादका क्रममा साहित्यकार गैरेले आफ्नो कृतिको विषयवस्तु, रचनागर्भ, यात्राका परिवेश तथा विभिन्न देशमा भेटिएका ऐतिहासिक, सामाजिक र सांस्कृतिक पक्षबारे विस्तारमा अनुभव सुनाउनुभयो।

कार्यक्रममा वरिष्ठ विश्लेषक नरेन्द्रजंग पिटर, भेरी साहित्य समाजका अध्यक्ष इन्द्रबहादुर बस्नेत, गजलकार खगेन्द्र गिरी ‘कोपिला’, प्रकाश गिरी ‘निश्चल’, विष्णु पादुका, शेखर दहित, बद्री ढकाल ‘हीरामणि’, विष्णु बेलबासे, एकराज शर्मा, कर्णबहादुर थापा, लक्ष्मण मानव, मणि गैरे, प्रकाश मरासिनी, देवकी निरौला, सुमित्रा न्यौपाने, चन्द्रावती अधिकारी, पुरमल बस्नेत, नवीन अभिलाषी, केशव निमेष र सनत सापकोटालगायत बाँके र बर्दियाका साहित्यकार, लेखक, कवि तथा सञ्चारकर्मीको उपस्थिति रहेको थियो।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्