राजनीति

संविधान संशोधन गर्दा आदिवासी जनजातिको पहिचान भेटिने व्यवस्था मिलाउँछौँ : सभापति देउवा

ललितपुर । नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले संविधान संशोधन गर्दा आदिवासी जनजातिको पहिचान भेटिने र पहिचानका लागि विद्यमान द्वन्द्व मेटिने व्यवस्था मिलाइने बताउनुभएको छ ।

कांग्रेसको आदिवासी जनजाति विभागद्वारा आज पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित ‘आदिवासी जनजाति योद्धाहरू’ पुस्तक विमोचन कार्यक्रममा उहाँले नेपाली कांग्रेस स्थापना हुनुभन्दा पहिलेदेखि प्रजातन्त्रका लागि आदिवासी जनजाति समुदायका साथीहरूले पार्टीका लागि उल्लेखनीय योगदान दिनुभएको स्मरण गर्दै उहाँहरूले पार्टी र देशका लागि कठोर सङ्घर्ष गर्नुभएको बताउनुभयो ।

“प्रजातन्त्र स्थापनाको मार्गमा आफ्नो घरपरिवारको प्रवाह नगरी आदिवासी जनजाति समुदायका साथीहरू अगाडि बढ्नुभयो, धेरैले त आफ्नो जीवन नै बलिदान दिनुभयो । ती सम्पूर्ण प्रजातन्त्र सेनानीप्रति म हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु । उहाँहरूको त्याग, तपस्या र योगदानकै जगमा आज नेपाल लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गर्न सफल भएको हो”, सभापति देउवाले भन्नुभयो ।

उहाँले तथा मुलुकका लागि अमूल्य योगदान दिने ती अग्रज योद्धाहरूको योगदानलाई उच्च मूल्याङ्कन गर्दै काँग्रेसले उहाँहरूको जीवनीमा आधारित ‘नेपाली कांग्रेसका आदिवासी जनजाति योद्धाहरू’ पुस्तक विमोचन गरेको जानकारी दिनुभयो । “पुस्तक विमोचनसँगै उहाँहरूका परिवारलाई सम्मान गर्न पाउँदा मलाई अत्यन्त खुसी लागेको छ”, उहाँले भन्नुभयो ।

“आदिवासी जनजातिलगायत सबै योद्धा तथा नेपाली कांग्रेसका अग्रज नेताहरूले देखाउनुभएको लोकतान्त्रिक र समावेशी मार्गमा पार्टी निरन्तर अग्रसर छ, उहाँहरूको प्रेरणा र हाम्रो निरन्तर प्रयासका कारण आज पार्टी समावेशी र समानुपातिक मूल्य, मान्यतामा दृढतापूर्वक अगाडि बढेको छ”, उहाँले भन्नुभयो ।

पार्टीको विधान समावेशी र समानुपातिक स्वरूपमा विकास गरिएको बताउँदै सभापति देउवाले पार्टी संरचनामा आदिवासी जनजाति समुदायको सहभागिता सुनिश्चित गर्न केन्द्रीय समितिमा एक जना सहमहामन्त्री निर्वाचित हुने, कम्तीमा १५ जना केन्द्रीय सदस्यहरू निर्वाचनमार्फत चयन हुने व्यवस्था विधानमार्फत सुनिश्चित गरिएको जानकारी दिनुभयो ।

“नेपाली कांग्रेसको नेतृत्वमा प्राप्त भएको ऐतिहासिक उपलब्धिहरू गणतन्त्र, सङ्घीयता, धर्म निरपेक्षता, समानुपातिक र समावेशिताको प्रभावकारी कार्यान्वयनमा पार्टी दृढ छ”, उहाँले भन्नुभयो ।

सभापति देउवाले पार्टीमा आदिवासी जनजाति विभाग र भ्रातृ संस्थाका रूपमा नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासङ्घ गठन गरिएको जनाउँदै यी संस्थाहरूका माध्यमबाट आदिवासी जनजातिका पहिचान र प्रतिनिधित्व पार्टीमा बढेको बताउनुभयो ।

“आदिवासी जनजातिको सहभागिताबाट पार्टी ठूलो र बलियो बनाउन मद्दत पुगेको छ । पार्टीको नेतृत्वमा बनेको वर्तमान संविधानमा आदिवासी जनजातिसहित सबै समुदायको आवाजलाई समेट्ने प्रयास गरिएको छ, सबै जातजाति र धर्मावलम्बीलाई सम्मान गर्दै, संविधानमा सबैको समावेशी र न्यायपूर्ण व्यवस्था गरेका छौँ”, उहाँले भन्नुभयो । उहाँले सबै मिलेर वर्तमान समावेशी संविधानको संरक्षण गर्नु आवश्यक रहेको भन्दै संविधान देशको समावेशी र लोकतान्त्रिक भविष्यको आधारका रूपमा रहेको धारणा राख्नुभयो ।

कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले नेपालको राजनीति नेपाली कांग्रेसको काँधमा रहेको उल्लेख गर्दै पार्टीको केन्द्रीय कार्यालय र विभागमार्फत निरन्तर क्रियाशील रहने प्रतिबद्धता जनाउनुभयो । उहाँले पार्टीको कमीकमजोरीलाई सुधारेर जाने सङ्कल्प गरेको बताउँदै नेपाली कांग्रेस निराशा हैन भरोसा बाँड्न तत्पर रहेको धारणा राख्नुभयो ।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्