अर्थ

संवादमार्फत राजस्व बढाउनेतर्फ लाग्नुस् : अर्थमन्त्री वाग्ले

पर्सा । अर्थमन्त्री स्वर्णिम वाग्लेले राजस्वको लक्ष्यभन्दा धेरै रकम सङ्कलन गर्नेगरी काम गर्नका लागि वीरगन्ज भन्सारका कर्मचारीहरूलाई निर्देशन दिनुभएको छ । 

अर्थमन्त्री वाग्लेले आज यहाँस्थित वीरगन्ज भन्सार कार्यालयको निरीक्षण गर्दै लक्ष्यअनुसारको राजस्व उठाउन पनि दबाब पर्ने भएता पनि संवादमार्फत नै राजस्वको लक्ष्यभन्दा धेरै रकम उठाउन अनुरोध गर्नुभयो ।

“लक्ष्यअनुसार राजस्व उठाउनका लागि एउटा दबाब पनि पर्ने गर्छ । त्यतिबेला उद्योगी–व्यवसायीहरू मारमा पनि पर्ने गर्छन् । तर, उद्योगी व्यवसायीलाई धरपकड र छापा मार्नेभन्दा पनि फकाई–फकाई वा संवादबाटै राजस्व उठाउनेतर्फ अघि बढ्न निर्देश गर्दछु”, उहाँले भन्नुभयो, “घुसको लेनदेन हुने गरेका विभिन्न खालका गुनासाहरू पनि रहेका छन् । त्यस्ता गुनासालाई पनि अन्त्य गर्न जरुरी छ ।”

अर्थमन्त्री वाग्लेले राम्रो काम गर्नेलाई प्रशंसा÷पुरस्कृत गर्ने र नराम्रो काम गर्नेलाई हतोत्साहित गर्ने नीतिअनुसार अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । “सरकारको माथिल्लो तहबाटै सदाचारको नीति अघि बढ्ने भएकाले तल्लो तहमा पनि सो कायम गर्न जरुरी छ । त्यो कुरा यहाँहरूले पनि पालना गर्नुहोला”, उहाँले भन्नुभयो, ‘‘बजार अनुगमन त हामीले गर्नुपर्ने हुन्छ । तर, बजार अनुगमनको पनि दुरुपयोग हुनेतर्फ सचेत र सहज हुनका लागि अनुरोध गर्दछु ।”

अर्थमन्त्री वाग्लेले उद्योगी–व्यवसायीलाई तर्साएर र धम्क्याएर नभएर संवादमार्फत राजस्व उठाउने कार्यमा लाग्न अनुरोध गर्नुभयो । “कडाइ गरेर एक वर्ष त राजस्व धेरै उठाउन सकिएला तर, उद्योगी व्यवसाय गर्न नै हतोत्साहि हुने वातावरण भने बनाउने छैनौँ”, उहाँले भन्नुभयो, “राजस्वको लक्ष्य पूरा गरेको खण्डमा तपाईँहरू मेरो नोटिसमा आउनुहुनेछ । सरकारले हामीले जुन विराट लक्ष्य लिएका छौँ, त्यसलाई परिपूर्ति गर्न सकिनेछ ।”

अर्थमन्त्री वाग्लेले बदमासी गर्ने विरुद्धमा राज्य एकदमै निर्मम भएर अघि बढ्ने बताउनुभएको छ । “भ्रष्टाचारलाई मलजल गर्ने समूह र व्यक्तिहरूमाथि नेपालको मौजुदा कानुन कार्यान्वयन गरेर नै छाड्नेछौँ”, उहाँले भन्नुभयो, “अहिले हिजोजस्तो समय छैन । समयले अहिले काँचुली फेरेको छ । नयाँ चाल र लयलाई समात्नुपर्छ भन्ने छ । अब सेवा प्रवाहमा नयाँ अनुभव गर्न पाउनुपर्नेछ ।”

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्