नेपाल

वीरगञ्जमा राती ९ देखि बिहान ९ बजेसम्म कर्फ्यु आदेश

वीरगञ्ज । जिल्ला प्रशासन कार्यालय पर्साले सोमबार राति ९ बजेदेखि मंगलबार बिहान ९ बजेसम्मका लागि वीरगञ्ज महानगरपालिका क्षेत्रमा कर्फ्यु आदेश जारी गरेको छ ।

पर्साका प्रमुख जिल्ला अधिकारी तोय नारायण सुवेदीले एक सूचना जारी गर्दै सोमबार राति ९ बजेदेखि मंगलबार बिहान ९ बजेसम्म लागू हुने गरी कर्फ्यु आदेश जारी गरिएको जनाउनु भएको छ ।

पूर्वमा बाइपास रोड, पश्चिममा सिरिया पुल, उत्तरमा गण्डक चौक, दक्षिणमा शंकराचार्य गेट चार किल्ला तोकि कर्फ्यु आदेश जारी गरिएको हो ।

स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) बमोजिम गरिएको आदेशअनुसार तोकिएको क्षेत्रभित्र सर्वसाधारणले आवतजावत गर्न, भिडभाड गर्न, जुलुस, सभा, प्रदर्शन वा कुनै किसिमको भीड जम्मा गर्न पूर्णतः निषेध गरिएको छ ।

सूचनामा कर्फ्यु आदेश जारी गरिनुको कुनै कारण खुलाइएको छैन भने आदेश पालना नगर्नेलाई कानुन बमोजिम कारवाही गरिने चेतावनी पनि दिएको देखिँदैन ।

भ्रष्टाचार र कुशासनविरुद्ध देशव्यापीरूपमा फैलिएको जेनजी पुस्ताको आन्दोलन सोमबार वीरगञ्जमा समेत प्रदर्शन गरिएको थियो भने प्रदर्शनकारीहरूले घण्टाघर चोक, माईस्थान चोकलगायतका क्षेत्रमा टायर बालेर नाराबाजी गरेकाले बढ्दो तनाव र सम्भावित झडपलाई मध्यनजर गर्दै प्रशासनले कर्फ्यु आदेश जारी गरेको जानकारी दिइएको छ ।

सुरक्षाका लागि ठूलो संख्यामा प्रहरी र सशस्त्र प्रहरीलाई सडकमा खटाइएको छ भने कफ्र्यू आदेश जारी भए लगतैदेखि वीरगञ्जको बजार, पसल र सडक सुनसान भएका छन् ।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्