साहित्य

‘वानीरा प्रज्ञा पुरस्कार’ माधव खनाल, मुनि शाक्य र धनराज गिरीलाई

काठमाडौँ। वानीरा फाउन्डेसनले यस वर्षको ‘वानीरा प्रज्ञा पुरस्कार’ वरिष्ठ कवि तथा गीतकार माधव खनाल ‘भावुक’ लाई प्रदान गर्ने निर्णय गरेको छ । फाउन्डेसनका अध्यक्ष इन्दिरा प्रसाईको अध्यक्षतामा शनिबार बसेको बैठकले नेपाली भाषा–साहित्यमा साढे सात दशकदेखि साधनारत भावुकलाई सो पुरस्कार समर्पण गर्ने निर्णय गरेको हो ।

भावुकको पहिलो कृति वि.सं. २००९ मा प्रकाशित भएको थियो भने उहाँका कविता सङ्ग्रहमा मविवि शाह, बालकृष्ण सम र मातृकाप्रसाद कोइरालाले भूमिका लेख्नुभएको छ । उहाँका तीनवटा कृति र करिब एक सय फुटकर रचना प्रकाशित छन् ।

त्यसै गरी, ‘वानीरा शङ्कर पुरस्कार’ कम्प्युटर वैज्ञानिक मुनि शाक्यलाई प्रदान गरिने भएको छ । चार दशकअघिदेखि कम्प्युटरमा नेपाली लिपिको निर्माणका साथै कृत्रिम बौद्धिकता (एआई) मा आधारित मौलिक यन्त्रमानव (रोबोट) को आविष्कार गरी अन्तर्राष्ट्रिय जगतमा नेपालको गौरव बढाएबापत उहाँलाई सो पुरस्कार दिन लागिएको हो । यी दुवै पुरस्कारको राशि जनही एक–एक लाख रुपियाँ रहेको छ ।

फाउन्डेसनले आख्यान, कविता र हास्यव्यङ्ग्य लेखनमार्फत नेपाली साहित्यको संवर्धनमा योगदान दिएबापत चितवनका साहित्यकार धनराज गिरीलाई ५० हजार रुपियाँ राशिको ‘वानीरा पुरस्कार’ प्रदान गर्ने निर्णय गरेको छ । यस्तै, काठमाडौँ महानगरपालिका–३१ को विकास र समाजसेवामा समर्पित सरोज ढकाललाई ‘वानीरा सेवा सम्मान’ समर्पण गरिने भएको छ ।

नेपाली साहित्यकी विश्व नारीरत्न डा. वानीरा गिरीको सम्मानमा स्थापित यी पुरस्कार तथा सम्मान डा. गिरीको ८३ औँ जयन्तीका अवसरमा काठमाडौँमा आयोजना हुने विशेष समारोहमा समर्पण गरिने सदस्य सचिव नरेन्द्रराज प्रसाईले जानकारी दिनुभयो ।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्