राजनीति

राष्ट्रपति पौडेलसँग भारतीय विदेश सचिव मिश्रीको शिष्टाचार भेट

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपाल भ्रमणमा रहनुभएका भारतका विदेश सचिव विक्रम मिश्रीले राष्ट्रपति भवन शीतल निवासमा शिष्टाचार भेट गर्नुभएको छ ।

त्यस अवसरमा राष्ट्रपति पौडेलले निकटको छिमेकी भारतले गरेको प्रगतिबाट नेपालले लाभ लिएको र अझ बढी लाभान्वित हुन चाहेको बताउनुभयो ।

“एउटा उदाउँदो अन्तर्राष्ट्रिय शक्तिका रूपमा भारतले सामाजिक–आर्थिक र प्राविधिक क्षेत्रमा गरेको प्रगतिबाट हामी प्रसन्न छौँ, एक मित्र एवं निकट छिमेकीका नाताले भारतका प्रगतिबाट नेपालले लाभ लिएको छ र अझ बढी लाभान्वित हुन चाहन्छ”, राष्ट्रपति पौडेलको भनाइ उद्धृत गर्दै उहाँका प्रेस सल्लाहकार किरण पोखरेलले भन्नुभयो ।

उहाँले नेपाल र भारतबिच शताब्दीऔँदेखि सामाजिक, सांस्कृतिक, धार्मिक, आध्यात्मिक, आर्थिक तथा जनस्तरको निकट सम्बन्ध रहेको चर्चा गर्दै दुई मुलुकबिचको सम्बन्ध सार्वभौमिक समानता, मैत्रीपूर्ण सहयोग, आपसी सम्मान एवं विश्वासमा आधारित रहेको बताउनुभयो ।

“नेपालले भारतसँगको सम्बन्धलाई सधैँ उच्च प्राथमिकतामा राखेको छ, छिमेकीहरूसँगको सम्बन्धलाई विशेष महत्त्व दिने भारत सरकारको ‘छिमेक पहिले नीति’ को नेपाल सराहना गर्दछ”, राष्ट्रपतिले भन्नुभयो ।

विदेश सचिव मिश्रीले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको छिमेकी देशसँगको सम्बन्धलाई प्राथमिकता दिने नीतिअनुसार नेपाल प्राथमिकताको उच्च स्थानमा रहेको बताउनुभएको प्रेस सल्लाहकार पोखरेलले जानकारी दिनुभयो ।

विदेश सचिवले आफ्नो भ्रमणका अवसरमा आधुनिक युगमा दुवै देशबिचको प्रगति एवं विकासका लागि ‘कनेक्टिभिटी’ विस्तारका साथै पारस्परिक हित र चासोका विषयमा सम्बद्ध अधिकारीहरूसँग छलफल गर्ने अवसर मिलेको बताउनुभयो ।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्