अर्थ

रसुवागढीको सुक्खा बन्दरगाह अहिलेको ठाउँमा बन्न नसक्ने

काठमाडौँ । रसुवागढी नाकाको टिमुरेमा निर्माणाधीन एकीकृत जाँचचौकी (सुक्खा बन्दरगाह) अब सोही स्थानमा बनाउन उपयुक्त नहुने देखिएको छ । रसुवा सुक्खा बन्दरगाह निर्माण कम्पनी तिब्बत फुली कन्स्ट्रक्सनका प्रोजेक्ट मेनेजर एङ ली र नेपाल इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलबिच सोमबार भएको छलफलमा त्यस्तो जानकारी गराइएको हो ।

छलफलमा निर्माण कम्पनीका प्रोजेक्ट मेनेजरले उक्त स्थानमा सुक्खा बन्दरगाह बनाउन उपयुक्त नभएको र अन्य ठाउँ छनोट गर्नुपर्ने सुझाव दिएको नेपाल इन्टरमोडल यातायात विकास समितिले जनाएको छ ।

समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले नेपाल सरकारका तर्फबाट सम्बन्धित मन्त्रालयबाट सो विषयमा थप छलफल गरी समितिलाई प्राप्त निर्देशन बमोजिम जानकारी गराउने बताउनुभयो ।

गत असार २४ मा आएको बाढीले बन्दरगाहमा एक अर्ब रुपियाँ बराबरको भौतिक क्षति भएको जनाइएको छ । बाढीले सुक्खा बन्दरगाहबाहेक मितेरी पुलसहितका संरचनामा क्षति पु¥याउनुका साथै १४ जना चिनियाँ र आठ जना नेपालीको मृत्यु भएको थियो ।

सुक्खा बन्दरगाह निर्माणस्थलमा भोटेकोशी नदीतर्फ लगाएको पर्खाल चार सय मिटर भत्किएको, २५० वटा सवारीसाधन पार्किङका लागि बनाएको ढलान पूर्ण रूपमा क्षति भएको, दुई वटा गोदाममा माटो र ढुङ्गा भरिएको, दुई वटा लोडिङ/अनलोडिङ सेड क्षति भएको र ब्याचिङ प्लान्टसमेत गरी कुल एक अर्ब रुपियाँ बराबरको भौतिक क्षति भएको समितिले जनाएको छ । ८१ प्रतिशत सम्पन्न निर्माण कार्य भएको उक्त सुक्खा बन्दरगाहमा निर्माण भएका संरचनामा ५५ प्रतिशत क्षति भएको अनुमान गरिएको छ ।

सुक्खा बन्दरगाह परिसरमा निर्माण भएका संरचनामध्ये प्रशासनिक भवन मात्र ठिक अवस्थामा रहेको समितिले जनाएको छ । चीन सरकारको दुई अर्ब १६ करोड रुपियाँ बराबरको आर्थिक तथा प्राविधिक सहयोगमा बन्दरगाह निर्माणाधीन थियो ।

 

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्