अमेरिका

युक्रेनको रक्षा गर्न अमेरिकी सेना नपठाउने: ट्रम्प

वासिङ्टन, (एपी)। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मङ्गलबार युक्रेनलाई रुसबाट जोगाउन अमेरिकी सेना नपठाउने आश्वासन दिनुभएको छ । यद्यपि उहाँले एक दिनअघि यस्तो सम्भावनालाई खुला छाड्नुभएको थियो ।

टिभी अन्तर्वार्तामा ट्रम्पले युक्रेनको नाटोमा प्रवेश गर्ने र रुसबाट क्रिमिया प्रायद्वीप फिर्ता पाउने आशा ‘असम्भव’ भएको बताउनुभयो ।

रिपब्लिकन राष्ट्रपति ट्रम्प, युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्की र अन्य युरोपेली नेताले सोमबार ह्वाइट हाउसमा रूस–युक्रेन युद्ध अन्त्य गर्ने उद्देश्यले लामो वार्ता गर्नुभएको थियो । पत्रकारको प्रश्नमा ट्रम्पले जेलेन्स्कीले माग्नुभएको सुरक्षा ग्यारेन्टी अन्तर्गत अमेरिकी सेना पठाउने कुरा भने अस्वीकार गर्नुभएन ।

गत हप्ता अलास्कामा रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँगको भेटपछि ट्रम्पले युक्रेनका लागि सुरक्षा ग्यारेन्टीबारे पुटिन खुला भएको बताउनुभएको थियो । तर मङ्गलबार फक्स न्युजको ‘फक्स एन्ड फ्रेन्ड्स’ कार्यक्रममा उहाँले अमेरिकी सेना युक्रेनको सिमाना रक्षा गर्न नजाने प्रष्ट पार्दै भन्नुभयो, “तपाईँलाई मेरो आश्वासन छ, र म राष्ट्रपति हुँ ।”

सन् २०२९ जनवरीमा आफ्नो कार्यकाल समाप्त भएपछि ट्रम्पको अमेरिकी सेनामाथि कुनै नियन्त्रण हुनेछैन । ह्वाइट हाउसकी प्रेस सचिव क्यारोलिन लेविटले पनि पुष्टि गर्दै भन्नुभयो, “कुनै पनि शान्ति मिसन अन्तर्गत अमेरिकी सेना जमिनमा रहने छैन ।”

ट्रम्पले अन्तर्वार्तामा रूसी आक्रमण अन्त्य गर्न सम्भावित सम्झौतामा पुग्ने आशा व्यक्त गर्नुभयो । तर उहाँले युक्रेनले क्रिमिया फिर्ता पाउने वा नाटोमा सामेल हुने आकाङ्क्षा अलग राख्नुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, “यी दुवै कुरा असम्भव छन् ।”

पुटिनले डोनेट्स्क र लुहान्स्क क्षेत्रबाट युक्रेनी सेना फिर्ता लैजाने र क्रिमियालाई रूसी क्षेत्रका रूपमा मान्यता दिन दबाब दिइरहनुभएको छ । सोमबार ट्रम्पले पुटिन र जेलेन्स्कीबीच प्रत्यक्ष वार्ता गर्ने व्यवस्था गरिरहेको बताउनुभएको थियो ।

तर पुटिन युक्रेनी नेतासँग प्रत्यक्ष भेट्न इच्छुक हुनुहुन्छ कि हुनुहुन्न भन्नेबारे क्रेमलिनले अझै केही खुलाएको छैन । पत्रकारको प्रश्नमा लेविटले भन्नुभयो, “पुटिनले भेट्ने वाचा गरिसक्नुभएको छ ।”

जेलेन्स्की, पुटिन र आफूबीच त्रिपक्षीय वार्ताको दबाब दिइरहेको बताउँदै ट्रम्पले भन्नुभयो, “आवश्यक परेमा त्रिपक्षीय बैठक हुनेछ तर पहिले पुटिन–जेलेन्स्की आमनेसामने हुनुहुनेछ ।”

पुटिनका विदेश सल्लाहकार युरी उशाकोभले युक्रेनसँग द्विपक्षीय वा त्रिपक्षीय बैठकबारे सहमति भएको कुनै सङ्केत दिनुभएन ।

आगामी दुई हप्तामा पुटिनको निर्णय स्पष्ट हुने विश्वास व्यक्त गर्दै ट्रम्पले भन्नुभयो, “मलाई लाग्छ पुटिन यस युद्धबाट थकित हुनुहुन्छ, सबै थकित छन् । तर के हुन्छ भन्ने दुई हप्ताभित्रै पत्ता लाग्छ ।”

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्