नेपाल

भ्रष्टाचारको अभियोगमा नौ जनाविरुद्ध मुद्धा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नयाँ पर्यटन गन्तव्य पहिचान गर्ने उद्देश्यले सञ्चालित कार्यक्रममा भ्रष्टाचार भएको अभियोगमा बझाङको दर्गाथली गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृतलगायत नौ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

सो कार्यक्रमका लागि आर्थिक वर्ष २०७५/७६ को स्वीकृत कार्यक्रमअन्तर्गत मन्दिर निर्माणका लागि निकासा भएको रकम हिनामिना गरेको पाइएको छ ।

आयोगले गरेको अध्ययनअनुसार छवीसपाथीभेरा गाउँपालिका–६ स्थित बाँठपाली देवता मन्दिर निर्माणका लागि रु ४५ लाख बराबरको रकम विनियोजन भएको थियो ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको बजेट तथा कार्यक्रमसहितको पत्रबमोजिम निकासा लिने, खर्च गर्ने, लेखा राख्ने, लेखापरीक्षण गराउने र बेरुजु फछ्र्यौट समेतको जिम्मेवारी दुर्गाथली गाउँपालिकालाई दिइएको थियो ।

स्वीकृत लागत अनुमान रु ५६ लाख सात हजार ८९७ मध्ये उपभोक्ता सहभागिता रु ११ लाख सात हजार ८९७ र कन्टिन्जेन्सीतर्फ रु दुई लाख २५ बराबरको बजेट थियो । निर्माण भएकोभन्दा बढी काम भएको देखाई अस्वाभाविक दर राखी र सम्झौता बमोजिमको जनसहभागिता रकम कट्टा गरी नक्कली बिल भरपाईका आधारमा रु २२ लाख एक हजार ६६५ बराबरको रकम भुक्तानी गरेको आयोगको भनाइ छ ।

आयोगले दुर्गाथली गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत मकरबहादुर मण्डेल, लेखापाल प्रेमप्रसाद पौडेल, छविसपाथीभेरा गाउँपालिकाका इञ्जिनियर हिक्मत रावल र सबइन्जिनियर बमबहादुर बोहराविरुद्ध रु २२ लाख एक हजार ६६५ बराबरको बिगो माग दाबी गरेको छ ।

छविसपाथीभेरा गाउँपालिकाका तत्कालीन उपाध्यक्ष राधिकाकुमारी रतला, वडा नं ६ का वडाअध्यक्ष मोहनलाल विकविरुद्ध पनि समान बिगो बराबरको मागदाबी गरिएको छ । बाँठपाली देवता मन्दिर निर्माण समितिका अध्यक्ष कृष्णबहादुर बुढा, सचिव जयबहादुर बुढा र कोषाध्यक्ष मधुलीदेवी बुढाविरुद्ध पनि समान बिगो र कैद सजायको माग दाबी गर्दै विशेष अदालतमा मुद्दा दायर गरिएको आयोगले जनाएको छ ।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्