नेपाल

बीमासम्बन्धी कसुरमा माइक्रो इन्स्योरेन्सका अध्यक्ष आशिष श्रेष्ठ पक्राउ

काठमाडौं । बीमा सम्बन्धी ऐन, २०७९ अन्तर्गतको कसुरमा संलग्न रहेको अभियोगमा नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडका अध्यक्ष आशिष श्रेष्ठ पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले ४६ वर्षीय श्रेष्ठलाई मङ्गलबार काठमाडौंको कागेश्वरी मनहरा नगरपालिका–५ बाट नियन्त्रणमा लिएको हो ।

नेपाल बीमा प्राधिकरण, कुपण्डोलको गत वैशाख ८ गतेको पत्राचार र आकस्मिक स्थलगत निरीक्षण प्रतिवेदनका आधारमा श्रेष्ठमाथि अनुसन्धान सुरु गरिएको ब्यूरोले जनाएको छ । प्राधिकरणको प्रतिवेदनमा नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेड समेतको संलग्नतामा बीमा ऐन २०७९ को दफा १४० को उपदफा (१) को खण्ड (छ) बमोजिमको कसुर भएको उल्लेख गरिएको छ ।

सोही प्रतिवेदनका आधारमा ब्यूरोले अनुसन्धानका लागि श्रेष्ठलाई पक्राउ गर्न वैशाख १४ गते काठमाडौं जिल्ला अदालत, बबरमहलबाट अनुमति लिएको थियो । पक्राउ परेका श्रेष्ठमाथि बीमा क्षेत्रमा भएको आर्थिक अनियमितता र कानुनी मर्यादा उल्लंघनको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रचलित कानुन अनुसार बीमा क्षेत्रको पारदर्शिता र सुशासन कायम राख्न प्राधिकरणले गरेको छानबिनका आधारमा यो कारबाही अगाडि बढाइएको ब्यूरोको भनाइ छ ।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्