नेपाल

‘बर्डफ्लु’ पुष्टि भएपछि ३८ हजार कुखुरा नष्ट

चितवन। चितवनमा बर्डफ्लु (एभियन इन्फ्लुएन्जा एच फाइभ एन वान) सङ्क्रमण देखिएपछि ३८ हजार २०० लेयर्स  कुखुरा नष्ट गरिएको छ । 

खैरहनी नगरपालिका–१ स्थित एक व्यावसायिक कुखुरा फार्ममा सङ्क्रमण पुष्टि भएपछि नियन्त्रणका लागि दानासहित कुखुरा नष्ट गरिएको हो । पशु सेवा कार्यालय चितवनका अनुसार यही जेठ २३ गते कुखुरामा बर्डफ्लु सङ्क्रमण भएको पुष्टि भएपछि जेठ २४ गतेदेखि कुखुरा नष्ट गर्न सुरु गरिएको कार्यालय प्रमुख डा प्रभात न्यौपानेले जानकारी दिनुभयो ।

उहाँका अनुसार लगातार तीनदिनसम्म कुखुरा नष्ट गरेपछि मङ्गलबार फार्म पूर्ण रुपमा सरसफाइ गरी सिल गरिएको हो । यस्तै सो फार्मबाट एक हजार ४०५ पेटी अण्डा, १२ टन दानासमेत नष्ट गरिएको प्रमुख डा प्रभात न्यौपानेले जानकारी दिनुभयो ।

“पशुपन्छी रोग अन्वेषण प्रयोगशाला, त्रिपुरेश्वरमा नमूना पठाएका थियौँ । त्यहाँबाट एभियन इन्फ्लुएन्जा एच फाइभ एन वान देखिएपछि हामीले तीन दिन लगाएर कुखुरा, अण्डा र दाना नष्ट गरेका हौँ”, उहाँले भन्नुभयो । प्रमुख डा न्यौपानेका अनुसार अन्य स्थानमा नमूना सङ्कलन गर्ने कामसमेत भइरहेको छ ।

यसअघि चैत १२ गते भरतपुर महानगरपालिका–४ स्थित एक व्यावसायिक कुखुरा फार्ममा सङ्क्रमण पुष्टि भएपछि १७ हजार ८७० लेयर्स कुखुरा र नजिकैको अर्को फार्मबाट ९३५ स्थानीय कुखुरा नष्ट गरिएको थियो ।

नेपालमा कुखुराजन्य क्षेत्रमा रु ७० अर्बभन्दा बढी लगानी छ ।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्