एक्सक्लुसीभ

बङ्गलादेशको ढाकामा लडाकु विमान दुर्घटना, १६ जनाको मृत्यु

ढाका, (एएफपी) । बङ्गलादेशको राजधानी ढाकामा सोमबार एक लडाकु विमान विद्यालय परिसरमा खस्दा कम्तीमा १६ जनाको मृत्यु भएको छ । मृतकमध्ये धेरैजसो विद्यार्थी रहेका छन् । यो विगत केही दशक यताकै सबैभन्दा गम्भीर विमान दुर्घटना हो ।

चिनियाँ निर्मित एफ–७ बीजेआई ९एफ–७ बीजेआई० लडाकु विमान दिउँसो १ः०६ बजे प्रशिक्षणका लागि उडेपछि केही समयमै ढाकास्थित मिलस्टोन स्कूल एन्ड कलेजको क्याम्पसमा दुर्घटनाग्रस्त भएको हो ।

दुर्घटनामा १०० भन्दा बढी व्यक्ति घाइते भएका छन्, जसमध्ये ८३ जना विभिन्न अस्पतालहरूमा उपचाररत छन् । घटनास्थलमा तत्कालै उद्धार कार्य सुरू गरिएको थियो र आगलागी नियन्त्रणमा लिन सुरक्षाकर्मी तथा दमकलकर्मीहरूले अथक प्रयास गरेका थिए ।

एक जना विद्यार्थी शफिउर रहमान शफीले भन्नुभयो,“हामी खेलमैदानमा थियौं । अचानक ठूलो आवाज आयो, जमिन काम्पियो, अनि विमान खसेको थाहा पाइयो । त्यसपछि आगो लाग्यो र केहीबेरमै सेना आइपुगे ।”

सरकारले मंगलबारलाई राष्ट्रिय शोक दिवस घोषणा गरेको छ । घाइतेहरूको उपचार भइरहेको छ भने मृतक विद्यार्थीहरूको परिवारजना अहिले गहिरो शोकमा छन् । अभिभावकहरूले अस्पताल पुगेर आफ्ना बालबालिकाको पहिचान गर्न प्रयास गरिरहेका छन् ।

अन्तरिम प्रधानमन्त्री मुहम्मद युनुसले एक सन्देशमार्फत घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै लेख्नुभएको छ,“वायुसेना, विद्यार्थी, शिक्षक, अभिभावक र मिलस्टोन स्कुलका कर्मचारीहरूमाथि परेको यो क्षति अपूरणीय छ । यो सम्पूर्ण राष्ट्रका लागि अत्यन्त पीडादायक क्षण हो ।”

बंगलादेशमा यसअघिको सबैभन्दा ठूलो विमान दुर्घटना सन् १९८४ मा भएको थियो, जसमा ४९ जनाको ज्यान गएको थियो ।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्