डायस्पोरा

पेन्सिलभेनियाको कार्लाइल शहरमा एएनओको राष्ट्रिय सम्मेलन सम्पन्न

पेन्सिलभेनिया । अमेरिकाका लागि नेपालका कार्यवाहक राजदूत शरदराज आरणले संसारभर छरिएका नेपाली मूलका व्यक्तिहरुलाई नेपालीको परिचय दिनुपर्ने धारणा राखेका छन्।

अमेरिकाको पेन्सिलभेनिया राज्यको कार्लाइल शहरमा एसोसिएसन अफ नेपाली ओरिजिन(एएनओ)को राष्ट्रिय सम्मेलनलाई शनिवार साँझ सम्बोधन गर्दै उनले नेपालको निर्माण र समृद्धिमा नेपाली जातिले ठूलो योगदान दिनसक्ने जिकिर गरे।

एएनओका केन्द्रीय अध्यक्ष डिल्ली अधिकारीले नेपालको समृद्धिमा योगदान दिन तयार भएका नेपाली मूलका मानिसहरुलाई नेपाल सरकारले पहिचान दिनुपर्ने धारणा राखेपछि राजदूत आरणले सो कुरा बताएका थिए।

अध्यक्ष अधिकारीले विदेशी भएर होइन पुस्तौं पुस्ताअघि नेपालबाट वाहिर गएका नेपाली मूलका मानिसहरु नेपाली जातिकै प्रतिनिधिका रुपमा नेपालको हर क्षेत्रमा योगदान दिन तयार भएको तर नेपाल सरकारले आफ्‌नै सन्ततिहरुलाई नेपालीको पहिचान दिन तयार हुनुपर्ने धारणा राखेका थिए।

कार्यक्रममा कार्यवाहक राजदूत आरणले धेरै पुस्तादेखि संसारका विभिन्न मुलुकमा बसेका नेपाली मूलका मानिसहरुलाई कसरी पहिचान दिन सकिन्छ भन्नेबारे राजदूतावास छलफल गर्न तयार रहेको र अमेरिकामा रहेका नेपाली मूलका नेपालीहरुको मागलाई नेपाल सरकारसम्म आफूले पुर्याउने बताए।

सो अवसरका अमेरिकाको ओहायो राज्यका लागि नेपालका अवैतनिक वाणिज्यदूत एवं एएनओको केन्द्रीय सचिवालय सदस्य डा.दामोदर पौडेलले नेपाली जातिका मानिसहरुलाई नेपालसँग जोड्ने एएनओको अभियानले तिब्रता लिएको र यसले नेपालको समृद्धिमा योगदान दिने विश्वास व्यक्त गरे।

नेपाली भूमिमै नेपाली जातिको आफू शरणार्थीको जीवन विताउनु परेको दुखद अवस्थाबारे बोल्दै एएनओका बोर्ड अफ ट्रष्टी सदस्य ओमराज गुरुङले जस्तोसुकै मुस्किल परेको अवस्थामा पनि आफूहरुले नेपाली पन, संस्कार र संस्कृतिलाई पुस्तान्तरण गर्दै आएको बताएका थिए।

राष्ट्रिय सम्मेलनमा एएनओका महासचिव चूडामणि भट्टराईले डा.भुवन गौतमको अध्यक्षतामा २१ सदस्यीय अमेरिकाको राष्ट्रिय समिति गठन भएको घोषणा गरेका थिए। उनले अमेरिकाको विभिन्न राज्यबाट प्रतिनिधिका रुपमा भाग लिन आएका सामाजिक कार्यकर्ताहरुलाई नेशनल डेलिगेट कमिटीमा चयन गरिएको जानकारी पनि दिए।

समितिको उपाध्यक्षमा डा.सन्जु महतो, सचिवमा विवेक पौडेल, सहसचिव चन्द्र पराजुली, कोषाध्यक्ष तृष्णा चिमोरिया, सहायक कोषाध्यक्ष सब्या विष्ट र प्रबक्तामा केशब आचार्य चयन भएका छन्।

त्यसैगरी सदस्यहरुमा सुवोध घिमिरे, पुनम दुलाल, रनसिंह मगर, गण्डकी पुत्र, दीपकजंग विश्वकर्मा, डा. जोन मगर, डा.ऋषि बस्ताकोटी, गंगा बस्नेत, युवकरत्न तुलाधर, राम श्रेष्ठ, श्रृष्टि राई, मनोज जोशी, टीबी गुरुङ, निशा गुरुङ छन्।

त्यसैगरी नेशनल डेलिगेट कमिटीमा उपेन्द्र लुईँटेल, रुपेश उप्रेती, केशब पौडेल, मेलिना मोक्तान, मन न्यौपाने, मुस्कान बालाम्पाकी मगर, तमन्ना गुरुङ, विकास घले, नबीन भट्टराई, अभिशेष थापा, रेनु न्यौपाने, माधव पोख्रेल, लक्ष्मी संग्रौला र घनश्याम रसाइली चयन भएका छन्।

नवनिर्वाचित कमिटीका अध्यक्ष डा.भुवन गौतमले सँगैका साथी नेपाल जाँदा एकजना गैरआवासीय नेपाली भएर जान पाउने आफू भने विदेशी भएर भिषा लिएर जानुपर्ने बाध्यता रहेको बताएका थिए।

इन्ट्रा नेशनल वेलफेयर एण्ड सपोर्ट फाउण्डेसनको गायन तथा नृत्य कक्षाका विद्यार्थीहरुले नेपाली संस्कृति झल्कने आकर्षक नृत्य र राष्ट्रिय गीतहरु प्रस्तुत गरेको सो कार्यक्रममा स्थानीय नेपालीहरुको ठूलो उपस्थिति रहेको थियो।

कार्यक्रममा स्वतारा टाउनसिपकी नवनिर्वाचित कमिस्नर नेपाली मूलकी विनिता पुरी राईलाई सम्मान गरिएको थियो। नेपाली मूलका मानिसको पहिचान गरी उनीहरुलाई परिचय पत्र उपलब्ध गराउने मागसहितको स्मरण पत्र कार्यवाहक राजदूतलाई हस्तान्तरणसमेत गरिएको थियो

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्