इमिग्रेशन अपडेट

नेपाली महावाणिज्यदूतावास दुबईद्वारा भिसा प्रमाणीकरण प्रक्रियामा कडाइ

दुबई । व्यक्तिगत भिसामा संयुक्त अरब इमिरेट्स (यूएई) आउने नेपाली कामदारहरू अलपत्र पर्ने र विभिन्न समस्यामा फस्ने क्रम बढेपछि नेपाली महावाणिज्यदूतावास दुबईले भिसा प्रमाणीकरण प्रक्रियामा कडाइ गरेको छ।

व्यक्तिगत भिसामा आउने कामदारहरू भित्र्याउने कतिपय कम्पनीहरूको विश्वसनीयता नदेखिएको, कामदार यूएई आइसकेपछि भिसा, इमिरेट्स कार्ड तथा बिमा सम्बन्धी व्यवस्था कार्यान्वयन गर्न कम्पनीहरू जिम्मेवार नभएको पाइएको छ।

यसका साथै कम्पनीमा काम नै उपलब्ध नभई श्रमिकहरूले अन्यत्र काम खोज्नुपरेको जस्ता अत्यधिक गुनासाहरू आएपछि महावाणिज्यदूतावासले यस्तो कदम चालेको हो। महावाणिज्यदूतावासले ,व्यक्तिगत श्रम स्वीकृतिमा वैदेशिक रोजगारमा जाने कामदारको श्रम स्वीकृति लिने प्रक्रिया सम्बन्धी निर्देशिका २०६९, को अधीनमा रही अब निश्चित ५ वटा अवस्थामा मात्रै व्यक्तिगत भिसा प्रमाणीकरण गरिने स्पष्ट पारेको छ।

नयाँ व्यवस्था अनुसार श्रमिकले आफू कार्यरत रहेको कम्पनीको लागि भिसा प्रमाणीकरण गराउँदा नाता खुल्ने आधिकारिक कागजात पेस गरेमा मात्र प्रमाणीकरण हुनेछ। यस्तो नाता सम्बन्धभित्र आमा, बाबु, छोरा, छोरी, दाजु, भाइ, दिदी, बहिनी, पति र पत्नी मात्र पर्नेछन्।

यसैगरी, कुनै व्यक्ति आफूले यसअघि काम गरेको कम्पनीमा पुनः काम गर्न आउने भएमा पहिला काम गरेको कम्पनीबाट पाएको रोजगारीको आधारमा प्राप्त गरेको इमिरेट्स कार्ड लगायतका कागजात पेस गर्नुपर्नेछ।

कुनै व्यक्तिले इन्टरनेट वा अन्य माध्यमबाट आफैँ रोजगारी खोजी गरी दक्ष काममा आउन चाहेमा भने व्यक्तिको प्रोफाइल, कम्पनीको प्रोफाइल, व्यक्तिको प्रोफाइलसँग काम मिल्दो हुनुपर्ने र निजको दक्षता पुष्टि हुने कागजात पेस गर्नुपर्ने नियम बनाइएको छ।

यस बाहेक यूएईको सरकारी निकाय वा त्यहाँस्थित कूटनीतिक नियोग वा सम्बद्ध पदाधिकारीहरूबाट लिखित रूपमा अनुरोध भई आएको खण्डमा पनि व्यक्तिगत भिसा प्रमाणीकरण गरिनेछ। त्यस्तै, यूएईको कुनै कम्पनीमा रोजगार गरिरहेको कामदार स्वदेश फर्कनु अघि यूएईमा निजले काम गरिसकेको व्यहोरा कागजातबाट खुल्न आएमा पनि भिसा प्रमाणीकरण हुनेछ।

तर घरायसी वा निजी कामदारको रूपमा काम गरिरहेको कामदारको हकमा भने सन् २०२४ सेप्टेम्बरसम्मको भिसा हुनुपर्ने अनिवार्य सर्त राखिएको छ।

महावाणिज्यदूतावासले व्यक्तिगत भिसा प्रमाणीकरणको लागि आवश्यक विस्तृत प्रक्रिया तथा कागजातहरूको सम्बन्धमा आफ्नो आधिकारिक वेबसाइटको लिंकमा गएर हेर्न समेत अनुरोध गरेको छ।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्