नेपाल

नेपाली पर्वतारोही पाण्डेद्वारा इण्डोनेसियाली हिमालको आरोहण

काठमाडौँ । नेपाली पर्वतारोही प्रकाश राज पाण्डेले इन्डोनेसियामा रहेको काष्ट्रेन्ज पिरामिड हिमशिखरको सफल आरोहण गरेका छन् । उनले अगस्ट १७ तारिखमा ओसिनिया क्षेत्रको सर्वोच्च हिमालको सफलतापूर्वक आरोहण गरेका हुन् । 

इन्डोनेसियाको पपुआ प्रान्तमा पर्ने उक्त हिमालमा आरोही पाण्डेले स्थानीय समय अनुसार बिहान ९ः३० बजे चन्द्र सूर्य अङ्कित नेपाली राष्ट्रिय झन्डा फहराएका थिए ।

सेभेन समिट अभियान अन्तर्गत सातै महादेशका सर्वोच्च शिखरहरूको आरोहण गर्ने महत्त्वाकाङ्क्षी लक्ष्य पछ्याइरहेका पाण्डे प्रधानमन्त्री केपी शर्मा ओलीबाट राष्ट्रिय झन्डा लिई अगस्ट ११ मा इन्डोनेसियातर्फ लागेका थिए । सेभेन समिटको यस विशेष अभियानमा उनको यो पाँचौँ हिमाल आरोहण हो भने समग्रमा दर्जन बढी हिमाल उनले चढिसकेका छन् ।

सन् २०२२ देखि उनी यस अभियानमा लागिरहेको छन् । २०१८ मा विश्वको सर्वोच्च शिखर सगरमाथा चढेका पाण्डेले यसअघि संसारका धेरै अग्ला हिमालहरूको आरोहण गरिसकेका छन् ।

आजै इन्डोनेसियाको ८०औँ स्वतन्त्रता दिवस परेकोले इण्डोनेसियाली आरोही सहितको स्थानीय समूहले विशेष खुसी मनाएको आरोही पाण्डेले बताए ।

हिमाल आरोहणमा जलवायु परिवर्तनको मुद्दा उठाउँदै आएका पाण्डेले सम्बन्धित सरकारी निकायसँग छलफल गर्नुका साथै विभिन्न देशका आरोही र उक्त क्षेत्रका स्थानीयहरूसँग जलवायु परिवर्तनका विषयमा छलफल परामर्श गरिएको उनले बताए ।

सेभेन समिट अभियानमा पाण्डेले अब उत्तर अमेरिकी महादेश, अन्टार्कटिका महादेश र अस्ट्रेलियाको हिमाल आरोहण गर्न बाँकी रहेको बताए ।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्