राजनीति

देशलाई नयाँ चरणमा लैजाने जिम्मेवारी काँग्रेससँग छ : उपसभापति शर्मा

तनहुँ । नेपाली काँग्रेसका उपसभापति विश्वप्रकाश शर्माले बदलिँदो अवस्थामा पुस्तान्तरबीचको दूरी घटाएर गरी समन्वय गर्दै देशलाई विश्वासको नयाँ चरणमा लैजाने जिम्मेवारी काँग्रेससँग रहेको बताउनुभएको छ । 

नेपाली काँग्रेस तनहुँद्वारा दमौलीमा आज आयोजित आसन्न प्रतिनिधिसभा निर्वाचनका सन्दर्भमा आयोजित बृहत् जिल्ला भेलालाई सम्बोधन गर्दै उपसभापति शर्माले वर्तमान जटिल परिस्थितिमा देशलाई सही दिशामा लैजान सक्षम नेतृत्व रोज्न मतदातालाई आग्रह गर्नुभयो ।

चुनाव केवल दलको जित हारको विषय नभई देशलाई सङ्कटबाट निकास दिने क्षमताको परीक्षण गर्ने समय भएको उहाँको भनाइ थियो । उहाँले भन्नुभयो, “मूल प्रश्न कुन दलले जित्ने भन्ने होइन, विषम परिस्थितिमा देशलाई कसले संयमपूर्वक समन्वय गर्न सक्छ र कसले परिपक्व तवरबाट फूलको माला जसरी गाँस्न सक्छ र देशलाई स्वच्छ बनाएर हाँक्न सक्छ भन्ने हो ।”

उहाँले ऐतिहासिक तथ्यका आधारमा काँग्रेसले मुलुकलाई सही ढङ्गले अघि बढाएको उदाहरण जनतामाझ लैजान आग्रह गर्नुभयो । काँग्रेस यति बेला सभापति गगन थापालाई प्रधानमन्त्री बनाउने अभियानमा लागेको बताउँदै उहाँले भन्नुभयो, “त्यही अभियानको लहर तनहुँमा पनि मिसिनेछ । देशलाई नवीन सपनामा, नवीन मार्गमा लैजानुपर्छ । यदि सही ढङ्गले देशलाई अघि बढाउन सकेनौँ भने अहिले जेनजी विद्रोह भयो । दश वर्षपछि फेरि अल्फाको विद्रोह हुनेछ । हामी त्यो अवस्था बन्न दिने छैनौँ ।”

नेपाली काँग्रेस तनहुँ क्षेत्र नं १ का उम्मेदवार गोविन्द भट्टराईले यहाँ सुशासन, समृद्धि कायम गर्दै आम नागरिकको माग पूरा गर्न प्रतिबद्ध रहेको बताउनुभयो । विषम् परिस्थितिलाई चिरेर देशकै जिम्मेवारी लिने गरी अगाडि बढेकाले कांगे्रसलाई मतदान गर्न उहाँले आग्रह गर्नुभयो । रासस

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्