एक्सक्लुसीभ

तोकिएको समयमा निर्वाचन सम्पन्न गर्ने गरी भूमिका खेल्न राष्ट्रपति पौडेलकाे आह्वान

काठमाडौँ । दशौँ संविधान दिवस आज देशभर विभिन्न कार्यक्रम गरी मनाइएको छ । 

जननिर्वाचित संविधानसभाबाट विक्रम संवत् २०७२ साल असोज ३ गते नेपालको संविधान जारी भएको दिनको स्मरणमा आज देशभर विभिन्न कार्यक्रम गरी  संविधान दिवस मनाइएको हो ।

संविधान दिवसका अवसरमा आज राष्ट्रपतिको कार्यालय शीतल निवासमा आयोजित जलपान समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले असहमति र पूर्वाग्रह नराखी तोकिएको समयमा निर्वाचन सम्पन्न गर्ने भूमिका खेल्न सबैलाई आह्वान गर्नुभयो ।

राष्ट्रपति पौडेलले संसद्बाट सरकार बन्ने अवस्था नभएपछि तत्कालीन सङ्कटबाट निकास दिन आम सहमतिका आधारमा संसद् विघटन तथ्यलाई मनन गरी नयाँ निर्वाचनबाट प्रतिनिधिसभा ल्याउने बाटोमा लाग्न सबैलाई आह्वान गर्नुभयो ।

राष्ट्रपति पौडेलले अहिलेको संविधानले सबै जात, धर्म र सम्प्रदायका जनतालाई समान हकसहित नेपाली जनतालाई सार्वभौमसत्ता सम्पन्न बनाएको उल्लेख गर्नुहुँदै प्राप्त उपलब्धिको रक्षाका लागि समेत सबैले भूमिका खेल्नुपर्ने बताउनुभयो ।

राष्ट्रपति पौडेलले सबै वर्ग समुदाय र पुस्ताको सहभागिताले लोकतन्त्र थप  बलियो हुने उल्लेख गर्नुहुँदै मुलुकलाई अहिलेको कठिन परिस्थितिबाट बाहिर निकाल्न सबैले लोकतन्त्र, सुशासन र नागरिकका आकाङ्क्षालाई केन्द्रमा राखेर अगाडि बढ्ने प्रतिज्ञा गर्ने अवसरका रूपमा संविधान दिवसलाई लिन आग्रह गर्नुभयो ।

राष्ट्रपति पौडेलले युवा पुस्ताको आन्दोलनले मुलुक फेरि एक पटक नयाँ सपनाका साथ परिवर्तनको मार्गमा प्रवेश गर्ने अवसर मिलेको उल्लेख गर्नुहुँदै नयाँ जनादेशले लोकतन्त्रलाई थप संस्थागत गर्दै मुलुकको आगामी बाटो तय गर्ने विश्वास समेत व्यक्त गर्नुभयो ।

राष्ट्रपति पौडेलले भ्रष्टाचार र बेथितिको अन्त्य गरी रोजगारी सिर्जना, वातावरणीय दिगोपन र सामाजिक न्यायलाई प्राथमिकतामा राख्न सके मात्र संविधानले कल्पना गरेको समतामूलक र समृद्ध नेपाल सम्भव हुने बताउनुभयो ।

समारोहमा उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत, सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल, पूर्व राष्ट्रपतिहरू रामवरण यादव र विद्यादेवी भण्डारी, पूर्व प्रधानमन्त्रीहरू, नेपाल सरकारका मन्त्री एवं पूर्व मन्त्रीहरू, विभिन्न राजनीतिक दलका नेताहरू, नेपालस्थित विभिन्न कूटनीतिक नियोगका प्रमुख एवं प्रतिनिधिहरू तथा उच्चपदस्थ कर्मचारीहरूको सहभागिता रहेको थियो ।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्