राजनीति

तोकिएकै मितिमा निर्वाचन हुनुपर्छ : महामन्त्री शर्मा

बागमती । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले राजनीतिक र संवैधानिक निकासका लागि निर्धारित मितिमा निर्वाचन हुनु आवश्यक रहेको बताउनुभएको छ ।

‘जेनजी’ प्रदर्शनका क्रममा गत भदौ २३ र २४ गते तोडफोड तथा आगजनीबाट क्षतिग्रस्त नेपाली काँग्रेस मकवानपुरको पार्टी कार्यालय अवलोकनपश्चात् आज सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले मुलुकलाई संवैधानिक र राजनीतिक निकासका लागि फागुन २१ मै निर्वाचन हुनुपर्ने बताउनुभयो ।

“राष्ट्रपति, संविधान, राष्ट्रियसभा, प्रदेश संरचना र स्थानीय तहलाई निर्वाचनकै माध्यमबाट ‘रिफ्रेस’ गर्न सकिने भएकाले निर्धारित मितिमा नै निर्वाचन सम्पन्न गर्नुपर्छ”, महामन्त्री शर्माले भन्नुभयो, “यसका लागि काँग्रेसले उचित वातावरण बनाउन सहयोग गर्छ ।”

प्रदर्शनपछि बनेको अन्तरिम सरकार असफल भए लोकतन्त्र नै खतरामा पर्ने भएकाले सरकारलाई सफल बनाउन काँग्रेसले सहयोग गर्न तयार रहेको उहाँको भनाइ थियो । महामन्त्री शर्माले वर्तमान सरकारमा योग्य व्यक्तिहरूलाई मन्त्री बनाइए पनि जेनजी युवा पुस्ताको सहभागिता नभएकाप्रति असन्तुष्टि जनाउँदै मन्त्रिपरिषद्मा जेनजी युवा पुस्तालाई पनि समेट्नुपर्ने सुझाव दिनुभयो ।

जेनजी आन्दोलनका क्रममा सरकारी संरचना र व्यावसायिक प्रतिष्ठानमा भएको आगजनी तथा तोडफोड जेनजी युवाहरूको भावनाअनुसार नभएको जिकिर गर्दै दुवै दिन भएका घटनामा संलग्न दोषीलाई कारबाही हुनुपर्नेमा जोड दिनुभयो ।

महामन्त्री शर्माले पछिल्लो घटनाले राजनीतिक दललाई परिवर्तन हुन सन्देश दिएको उल्लेख गर्दै फरक–फरक विचारलाई सम्बोधन गर्दै साझा धारणा बनाउने तयारीमा पार्टी केन्द्रीय समितिको बैठक बस्ने तयारी भइरहेको बताउनुभयो । “हामीले युवाहरूको भावनाको सम्मान गर्नैपर्छ । त्यसका लागि काँग्रेसले केन्द्रीय समितिमार्फत योजना अगाडि सार्छ । विधान संशोधनमार्फत जेनजी पुस्तालाई प्रतिनिधित्व गराउने गरी तयारी भइरहेको छ”, उहाँले भन्नुभयो,“पार्टी सभापति शेरबहादुर देउवाको घरमा पैसा भेटिएको भनी सामाजिक सञ्जालमा भाइरल भएका भिडियोका सन्दर्भमा पनि भिडियोकै आधारमा आम धारणा बनाउन हुँदैन । यस विषयमा निष्पक्ष अनुसन्धानमार्फत सत्य तथ्य बाहिर ल्याउनुपर्छ ।”

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्