एक्सक्लुसीभ

गगनलाई शेखर कोइरालाको जवाफ, ‘सात बुँदे प्रस्तावबारे कुनै जानकारी छैन’

‘बाहिर हल्ला गरिएअनुसार नेपाली कांग्रेस संस्थापन पक्षले सहमतिका लागि सात बुँदे प्रस्ताव पठाएको भन्ने विषयमा डा. शेखर कोइराला र उहाँको सचिवालयलाई अहिलेसम्म कतैबाट कुनै जानकारी प्राप्त भएको छैन,’ सचिवालयले भनेको छ, ‘यस्ता मनगढन्ते, कपोलकल्पित र भ्रामक सूचनाको भ्रममा कोही नपर्नुहोला।’

काठमाडौं । नेपाली कांग्रेसको संस्थापन पक्षले सहमतिका लागि सात बुँदे प्रस्ताव वरिष्ठ नेता डा . शेखर कोइरालालाई भेटेरै दिएको दाबी गरेपछि कोइरालाको सचिवालयले त्यसको खण्डन गरेको छ।

सचिवालयले बुधबार प्रेस नोट जारी गर्दै बाहिर प्रचार गरिएजस्तो संस्थापन पक्षबाट कुनै सात बुँदे प्रस्ताव आएको वा त्यसबारे आफूहरूलाई जानकारी रहेको दाबी असत्य भएको जनाएको हो। सचिवालयका अनुसार डा. कोइराला र उनको सचिवालयलाई अहिलेसम्म त्यस्तो कुनै प्रस्तावबारे जानकारी आएको छैन।

‘बाहिर हल्ला गरिएअनुसार नेपाली कांग्रेस संस्थापन पक्षले सहमतिका लागि सात बुँदे प्रस्ताव पठाएको भन्ने विषयमा डा. शेखर कोइराला र उहाँको सचिवालयलाई अहिलेसम्म कतैबाट कुनै जानकारी प्राप्त भएको छैन,’ सचिवालयले भनेको छ, ‘यस्ता मनगढन्ते, कपोलकल्पित र भ्रामक सूचनाको भ्रममा कोही नपर्नुहोला।’

सचिवालयले डा. कोइरालासँग पछिल्लो समय भएका भेटघाटबारे पनि स्पष्ट पारेको छ। कांग्रेसको विशेष महाधिवेशनबाट नयाँ कार्यसमिति गठन भएपछि २०८२ चैत २२ गते नेता प्रदीप पौडेल र २०८३ वैशाख २२ गते गगन कुमार थापाले विशालनगरस्थित सचिवालयमा पुगेर डा. कोइरालासँग भेट गरेको उल्लेख गरिएको छ।

‘त्यसपछि कोही कसैसँग कुनै पनि संवाद र सम्पर्क भएको छैन,’ सचिवालयले जनाएको छ।

यसअघि उपसभापति विश्वप्रकाश शर्माले सञ्चारकर्मीसँग कुरा गर्दै संस्थापन पक्षले सहमतिका लागि तयार पारेको सातबुँदे प्रस्ताव डा. शेखर कोइरालालाई भेटेरै दिएको बताएका थिए। शर्माको उक्त अभिव्यक्तिपछि कांग्रेसभित्र नयाँ शक्ति–सन्तुलन र सम्भावित सहमतिबारे चर्चा सुरु भएको थियो।

तर शेखर पक्षले त्यसलाई ठाडै अस्वीकार गरेपछि कांग्रेसभित्रको आन्तरिक संवाद र सहमतिको प्रयासबारे थप अन्योल सिर्जना भएको छ। एकातिर संस्थापन पक्षले सहमतिको पहल भइरहेको झुट बोल्ने अर्कोतर्फ कोइराला पक्षले त्यस्तो कुनै औपचारिक प्रस्ताव नै प्राप्त नभएको बताएको छ।

दुवै पक्षका परस्परविरोधी अभिव्यक्तिले कांग्रेसभित्रको आन्तरिक अविश्वास अझ सतहमा आएको छ।

यसअघि पार्टीका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई पनि भेटेको पनि पार्टी संस्थापन पक्षले झुट बोलेको थियो । खड्काले पनि एक महिनादेखि पार्टीका कुनै पदाधिकारीलाई नभेटेको सामाजिक सञ्जालमार्फत बताएका थिए ।

पार्टी सभापति थापाले हरेक निर्णय मिडिया ट्रायलपछि आउने प्रतिक्रियाका आधारमा गर्ने आरोप लाग्दै आएको छ ।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्