नेपाल

कैलालीको सुखडमा मनाइयो मगर दिवस

कैलाली । नेपाल मगर सङ्घको ४४ औँ स्थापना दिवस कैलालीको सुखडमा भव्य रूपमा मनाइएको छ। नेपाल मगर सङ्घ, कैलालीले शुक्रबार घोडाघोडी नगरपालिका–१, सुखडस्थित हेलिप्याडमा विभिन्न कार्यक्रम गरी दिवस मनाएको हो।

घोडाघोडी नगरपालिकाका नगरप्रमुख खडकबहादुर रावतको प्रमुख आतिथ्यमा भएको सो कार्यक्रममा कैलालीका सबै पालिका तथा छिमेकी जिल्लाबाट ठुलो सङ्ख्यामा मगर समुदायको उपस्थिति थियो। ऐतिहासिक मगर सभ्यताको गर्विलो इतिहास पुनर्लेखन गर्ने र मगरात दर्शन निर्माणको सङ्कल्पसहित दिवस आयोजना गरिएको सङ्घका जिल्ला अध्यक्ष वीरेन्द्र थापामगरले बताउनुभयो।

कार्यक्रममा विशिष्ट अतिथिका रूपमा सङ्घका केन्द्रीय सहअध्यक्ष गङ्गा खासुमगर, केन्द्रीय सल्लाहकार सदस्य रत्ना रानामगर र केन्द्रीय उपाध्यक्ष तेज तारामीमगरलगायतको उपस्थिति थियो। सो अवसरमा मगर समुदायका विभिन्न सांस्कृतिक नाच तथा झाँकी प्रस्तुत गरिनुका साथै खेलकुद, कला र सामाजिक क्षेत्रमा योगदान पुर्‍याउने व्यक्तित्वहरूलाई सम्मान गरिएको थियो।

सङ्घका केन्द्रीय सहअध्यक्ष खासुमगरले मगर समुदायले आफ्नो भाषा, भेषभुषा, संस्कृति, खानपान र धर्मको संरक्षणसँगै नयाँ पुस्तामा हस्तान्तरण गर्नुपर्नेमा जोड दिनुभयो। उहाँले यस्ता कार्यक्रमले समुदायलाई सामाजिक, आर्थिक र राजनीतिक रूपमा सशक्त बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो।

नगरप्रमुख रावतले नगरपालिकाभित्र रहेका हरेक जाति र समुदायको चौतर्फी विकास तथा संस्कृति संरक्षणका लागि नगर सरकारले सक्दो सहयोग गर्दै आएको बताउनुभयो।

जनगणना २०७८ अनुसार सुदूरपश्चिम प्रदेशमा ५२ हजार ७९७ मगर समुदायको बसोबास छ, जसमध्ये कैलालीमा मात्रै ३१ हजार २४० जना रहेका छन्।  वि.सं. २०३९ फागुन १५ गते स्थापना भएको नेपाल मगर सङ्घले सोही दिनलाई दिवसका रूपमा मनाउँदै आएको छ। कैलालीमा २०५२ सालदेखि यो दिवस मनाउन थालिएको र यस वर्ष दुई दिनसम्म कार्यक्रम चल्ने जिल्ला उपाध्यक्ष विमा पुनमगरले जानकारी दिनुभयो।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्