एक्सक्लुसीभ

काँग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक

काठमाडौँ । नेपाली काँग्रेसका विशेष महाधिवेशन पक्षधरहरूले आह्वान गरेको विशेष महाधिवेशनको तयारी तीव्र पारिएको छ । उक्त महाधिवेशनको मिति दुई दिन मात्र बाँकी रहँदा काठमाडौँ उपत्यकाका विभिन्न सडक पार्टीका झण्डाले सिँगारिएका छन् ।

यही पुस २७ गतेदेखि सुरु हुने विशेष महाधिवेशन स्थल भृकुटीमण्डपस्थित महाधिवेशन स्थलमा मञ्च निर्माण, हल सजावटलगायतका प्राविधिक पक्षका कामहरू अघि बढाइएको आयोजक समितिले जनाएको छ ।

स्वयंसेवक व्यवस्थापन समितिका संयोजक मनिष कोइरालाले विशेष महाधिवेशनमा करिब एक हजार स्वयंसेवक परिचालन गरिने जानकारी दिनुभयो । “भृकुटीमण्डपमा आजैदेखि मुख्य मञ्च निर्माण सुरु भइसकेको छ”, कोइरालाले भन्नुभयो ।

आयोजकका अनुसार विशेष महाधिवेशनको सन्देश पार्टी कार्यकर्ता र आम नागरिकसम्म पुर्‍याउने अपेक्षा गरिएको छ । यसैगरी महाधिवेशनमा सहभागिताका लागि देशभरका जिल्लाबाट काँग्रेस कार्यकर्ता तथा शुभेच्छुकहरू काठमाडौँ आउनेक्रम सुरु भएको आयोजक समितिको भनाइ छ ।

जनपरिचालन समितिका संयोजक जगदिश्वरनरसिंह केसीले उद्घाटन सत्रमा हजारौँको सङ्ख्यामा सहभागिता रहने जानकारी दिनुभयो । काँग्रेसभित्र संस्थापन पक्षको असहमतिका बीच हुन लागेको यो विशेष महाधिवेशनलाई चासोका साथ हेरिएको छ ।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्