नेपाल

करणीपछि रक्तस्रावका कारण किशोरीको मृत्यु भएको पुष्टि

सुर्खेत । जबरजस्ती करणीपछि अत्यधिक रक्तस्रावका कारण इनिसा विकको मृत्यु भएको पोस्टमार्टम रिपोर्टले देखाएको छ । करणीका क्रममा पीडितको पाठेघर च्यातिएको र त्यसपछि भएको अत्यधिक रक्तस्रावले मृत्यु भएको प्रहरीको प्रारम्भिक अनुसन्धान र चिकित्सकको प्रतिवेदनले पुष्टि गरेको हो ।

जिल्ला प्रहरी कार्यालय, सुर्खेतका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) मोहनजङ्ग बुढथापाका अनुसार कर्णाली प्रदेश अस्पताल, कालागाउँका तीन जना चिकित्सक र भेरी अस्पताल, बाँकेका फरेन्सिक विशेषज्ञ डा. अर्विन शाक्यले तयार पारेको पोस्टमार्टम रिपोर्टमा सो कुरा उल्लेख छ ।

डा. शाक्यका अनुसार करणीका क्रममा किशोरीको संवेदनशील अङ्ग च्यातिएको र पाठेघरसम्म घाउको गहिरो प्रभाव देखिएको छ । सोही कारण भएको अत्यधिक रक्तस्राव नै मृत्युको मुख्य कारण रहेको उहाँले जानकारी दिनुभयो ।

सुर्खेतको गुर्भाकोट नगरपालिका–६ बडाखोली स्थायी घर भई हाल वीरेन्द्रनगर–१ मा बस्दै आएकी १६ वर्षीया इनिसाको शव फागुन २३ गते बिहान वीरेन्द्रनगर–४ स्थित सहिद पार्क नजिकैको जनजागरण सामुदायिक वनमा फेला परेको थियो । पीडित परिवारले भने सामूहिक बलात्कारपछि हत्या गरिएको दाबी गर्दै आएका छन् ।

प्रहरीले घटनाको दिन फागुन २३ गते नै एक १६ वर्षीय किशोरलाई पक्राउ गरेको थियो भने अनुसन्धानका लागि फागुन २४ गते थप तीन जनालाई नियन्त्रणमा लिएको छ । पक्राउ परेका किशोर र इनिसा विगत दुई वर्षदेखि प्रेम सम्बन्धमा रहेको र योजनाअनुसार नै सहिद पार्क घुम्न गएको प्रहरीको दाबी छ ।

अनुसन्धानका लागि विज्ञ टोली परिचालन

घटनाको सूक्ष्म अध्ययनका लागि केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) र नेपाल प्रहरी प्रदेश कार्यालय, नेपालगन्जबाट पोलियोग्राफी विज्ञको टोली सुर्खेत आइपुगेको छ । सुर्खेतका प्रहरी उपरीक्षक (एसपी) सुधीरराज शाहीले घटनाको सत्यतथ्य पत्ता लगाउन प्राविधिक र वैज्ञानिक दुवै विधि अपनाइएको जानकारी दिनुभयो ।

“पोलियोग्राफी टोलीले आरोपीहरूको बयानको सत्यता जाँच्नेछ,” एसपी शाहीले भन्नुभयो, “पीडित र आरोपित दुवैको मोबाइल लगायतका विद्युतीय सामग्री र घटनास्थलबाट सङ्कलित प्रमाणहरू थप परीक्षणका लागि केन्द्रीय विधि विज्ञान प्रयोगशाला पठाइएको छ ।” प्रहरीले पोस्टमार्टम रिपोर्ट, पोलियोग्राफी र कल डिटेल लगायतका सबै पक्षलाई सूक्ष्म रूपमा केलाएर अनुसन्धान गरिरहेको जनाएको छ ।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्